जनता टाइम्स

१९ कार्तिक २०८०, आईतवार १३:४१

राप्रपाले भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने


काठमाडौं, १९ कात्तिक । राप्रपाले भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय पदाधिकारी बैठकले जाजरकोट भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकले जाजकोट भूकम्पबाट प्रभावित परिवारलाई राहत पुर्याउन पार्टीका संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुको एक महिनाको तलब र पार्टीको तर्फबाट गरी २५ लाख रुपैयाँ नेपाल सरकारलाई प्रदान गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।‍

जाजरकोट भूकम्पले जाजरकोट तथा रुकुम पश्चिममा भएको जनधनको क्षतिप्रति राप्रपाले दुःख व्यक्त गर्दै भूकम्पका कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै उद्धार, खोजतलासका कार्यहरु गर्न, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न र राहत एवं पुनःस्थापनाका कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारको राप्रपाले ध्यानाकर्षण गराएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोट जिल्लाका लागि प्रतिनिधि सभासदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) को संयोजकत्वमा र रुकुम पश्चिम जिल्लाका लागि पार्टीका सहायक महामन्त्री सौरेन्बहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय गरिएको छ ।

सो को लागि प्रभावित जिल्लाभित्रका र अन्य जिल्लाबाट जाने राप्रपाका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले जाजरकोटको हकमा ज्ञानेन्द्र शाहीसँग र रुकुम पश्चिम जिल्लाको हकमा सहायक महामन्त्री सौरेन्द्र बहादुर शाहँंग समन्वय गरी उद्धार कार्यमा सहयोग पुर्याउन सकिने व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

राप्रपाले भूगोल केन्द्रित जिम्मेवारी कार्यक्रममध्ये जाजरकोट र रुकुम पश्चिम जिल्लाका कार्यक्रमहरू आगामी १५ मंसिरसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । साथै पार्टीले गर्ने आमसभा, विरोधसभा तथा प्रदर्शनका कार्यक्रमहरु कार्तिक मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।