जनता टाइम्स

२१ कार्तिक २०८०, मंगलवार १८:१६

मानव बेचिबखन प्रभावितको न्याय प्राप्तिका लागि भूमिका खेल्न सञ्चारकर्मीलाई शक्तिसमूहको आग्रह


काठमाडमौं, २१ कात्तिक । शक्ति समूहकी अध्यक्ष तथा मानव बेचबिखनविरुद्धकी अन्तर्राष्ट्रिय अभियन्ता चरिमाया तामाङले पीडितहरुको पुनस्थापना, न्याय प्राप्तिलगायतका अभियानमा मिडियाले जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।

शक्ति समूहको आयोजना र मुक्ति साउथ एसिया तथा एक्प्याक्ट लक्जेम्बर्गको सहयोगमा मंगलबार ललितपुरमा आयोजित मानव बेचबिखन न्युनिकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यशालामा उनले मिडियाको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

आफूहरु बेचबिखनमा परेर स्वदेश फर्किदाको अवस्था र यो बीचमा करीब ३० वर्षको अवधिमा नेपाली समाज र मिडिया दुवैको मानव बेचबिखनलाई बुझ्ने क्षमतामा विकास भएको भन्दै उहाँले अझै पनि प्रभावितको पक्षमा मिडियाले धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।

कार्यक्रममा मुक्ति साउथ एशियाको तर्फबाट उर्मिला श्रेष्ठले नेपालमा मानब बेचिबखनको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको थियो । अहिले पनि गरीबी र पारिवारिक विखण्डनका कारण बेचबिखन हुनेका संख्या आधा भन्दा बढी रहेको तथ्यांक उहाँले प्रस्तुत गर्नुभएको थियो ।