जनता टाइम्स

२९ भाद्र २०७६, आईतवार १०:००

जिल्ला अस्पताललाई डेंगु किट उपलब्ध


बैतडी, भदौ २९   बैतडीको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताल बैतडीलाई डेंगु परीक्षण किट उपलब्ध गराएको छ । देशैभरि डेंगुका बिरामी फेला परेकाले डेंगु रोग परीक्षणमा सहयोग पु¥याउने हेतुले किट उपलब्ध गराइएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिनुभयो । अस्पताललाई ४५ किट उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग लागेमा त्यसको परीक्षणका लागि किटले सहयोग पुग्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा जगदीशचन्द्र विष्टले जानकारी दिनुभयो । जिल्लामा अहिलेसम्म डेंगुका बिरामी फेला नपरेको उहाँले बताउनुभयो । डेंगु रोग लागेमा उच्च ज्वरो आउने, शरीर कम्पन हुनेलगायतका लक्षणहरु देखापर्ने डा विष्टले जानकारी दिनुभयो ।

यस्तै डेंगु रोगका बारेमा सचेतना फैलाउन नगरपालिकाभरिका सबै विद्यालयमा निर्देशन गरिएको दशरथचन्द नगरपालिकाले जनाएको छ । आफ्नो वरपरको वातावरण सफा राख्नुपर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने, लामखुट्टेको टोकाइबाट बच्नका लागि झुलको प्रयोग गरेर सुत्नुपर्नेलगायतका सुझाव विद्यार्थीमार्फत दिइएको नगरपालिकाका सामाजिक शाखा प्रमुख चन्दले जानकारी दिनुभयो ।

बैतडी सबै स्थानीय तहमा द्रुत प्रतिकार्य टोली

बैतडीका १० वटै स्थानीय तहमा स्वास्थ्यको द्रुत प्रतिकार्य टोली ९आरआइटी० गठन गरिएको छ । स्थानीय तहमा रहेका स्वास्थ्य संयोजकको संयोजकत्वमा प्रत्येक स्थानीय तहमा आरआइटी टोली गठन गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

उक्त टोलीले स्थानीय तहमा कुनै पनि रोगको महामारी फैलिएमा तत्काल समाधान गर्ने स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवन जोशीले जानकारी दिनुभयो । कुनै पनि रोगको महामारी फैलिए महामारी नियन्त्रणका लागि आरआइटी टोलीले समन्वय गर्ने उहाँले बताउनुभयो । उक्त टोलीले तत्काल महामारीको सूचना सङ्कलन गरी औषधोपचारसमेत गर्ने जनाइएको छ । आरआइटी टोली जुनसुकै बेला पनि तयारी अवस्थामा राखिएको जनस्वास्थ्य निरीक्षक जोशीको भनाइ छ ।