जनता टाइम्स

२२ कार्तिक २०८०, बुधबार १४:३५

भूकम्पपीडितका लागि चीनले हस्तान्तरण गर्यो ३० करोड रुपैयाँको राहत सामाग्री, केरुङबाट पनि आउँदै


काठमाडौं, कात्तिक २२ । चीन सरकारले नेपालका भूकम्प पीडितलाई राहतका लागि ३० करोड रुपैँया बराबरका सामाग्री हस्तान्तरण गरेको छ ।

चिनियाँ राजदूत छन् सङले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भूकम्पपीडितका लागि चीन सरकारले पठाएको राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत ती सामाग्री ल्याइपुर्याइएको हो । पीडितका लागि ४ हजार ६ सय ब्लाङ्केट र ६ सय टेन्ट चीन सरकारले उपलब्ध गराएको छ ।

चीन सरकारले केरुङ नाका १० करोड रुपैँया बराबरका २३ ट्रक छुट्टै राहत सामाग्री पनि पठाएको छ । जसमा २ हजार ३ सय टेण्ट, २ हजार ब्लाङ्केट औषधि लगायतका सामाग्री रहेका छन ।

राजदूत सङले पश्चिम नेपालको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । नेपाल र नेपालीको दुःखमा चीन सरकार र चिनिया जनता सदैव साथमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।