जनता टाइम्स

२९ भाद्र २०७६, आईतवार १०:०८

गणतन्त्र र कम्युनिष्टबिरुद्धको आक्रमण हो पर्यटनमन्त्री योगेश भट्टराईमाथि बिमानमा भएको दुर्ब्यवहार


शनिवार नेपालगञ्जबाट काठमाडौं आउने क्रममा बिमानभित्रै संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई अराजक झुण्को अपमानको सिकार भए । पूर्वराजावादीको एउटा समुहले बिमानको सुरक्षा ब्यवस्थामै खतरा उत्पन्न गराई मन्त्रीको अपमान र दुब्र्यवहार गर्न भ्याए । यो घटनाले सवैको मन पोलेको छ । उचित समय र उचित स्थान नपाएसम्म राजनीतिक व्यवस्थाले संस्थागत विकास गर्न नसक्ने रहेछ । नागरिकलाई जिम्मेवार बनाउन सानैदेखि पद्धति र प्रक्रियामा डोहोर्याउन सक्ने देशभित्र वातावरण छैन भने अराजकको झुण्डले लोकतन्त्रको मुखुण्डो लाएर सरकार र सरकारका मन्त्री माथिनै जाइलाग्ने प्रवृति देखिन्छन् ।

यस्ता गतिविधि रोक्न सरकार निरही जस्तै देखिदै छ । बहुमतको स्थायी सरकारका केही अराजक झुण्डसँग डराएको जस्तो गर्दैछ । सरकारको विरोध गर्न लोकतन्त्रमा छुट छ, तर दायित्ववोधका अनुभुति हुनुपर्छ । अधिकारको नाममा कतव्य भुलेरै अराजक बन्ने झुण्डलाई सवक सिकाउन सरकारले समयमै ध्यान दिन सकेको छैन । देशमा अस्थिरताको नाममा जुठो खान पल्केकाहरु अत्तालिएका हुन् वा लोकतान्त्रिक दल भनिनेहरु सत्ता छोड्दा पीडामा बहुलाएका हुन यो बुझ्न कठीन छैन ।

नेपाली समाजमा आफूभन्दा माथिकासँग आदर र सम्मान गर्नुपर्छ भन्ने सानैदेखि सिकाइएको हुन्छ । तर, राजनीतिक दललाई सत्ता भोग्न नपाए अवान्छित तरिका अपनाएर विपक्षले गरेका राम्रो कामको समेत विरोध गर्ने प्रबृति कस्ले सिकायो ? जस्तो हिजो मात्र पर्यटनमन्त्री योगेश भट्टराई माथि भएको प्रवृति के हो ? के मन्त्री एउटा हेलिचार्टर गर्न नसक्ने हुन ? तर एउटा हेली चार्टर गर्दा कति रकम खर्च हुन्छ ? त्यो भोलि तपाई हामीले तिरको कर नै सकिने हो । त्यसैले पर्यटनमन्त्री भट्टराईले ३ हजार ३५ सयमै भएपनि सर्वसाधारणसँगै नेपालगञ्जदेखि काठमाडौंसम्मको यात्रा गर्दा के अपराध नै गरेका हुन ? किन देशको मन्त्रीलाई एउटा अपराधी जस्तो बनाईयो ? संवेदनशील क्षेत्रमा चौतर्फी घेरा बन्दी गरी के गर्न खोजेको ? के शन्देश दिन खोजको ? यति निकृष्ट काम गर्दा पनि राज्य किन निरही ?

सरकारलाई निती र पद्धतिमा चल्नुपर्छ भन्ने झुण्ड चाँहि पद्धतिमा चल्नुपर्ने बाध्यता छैन ? कि जे मनमा आयो, जे मुखमा आयो त्यही भन्ने, त्यही गर्ने छुट त्यो अराजक झुण्डलाइै छ ? आफूप्रति राम्रो व्यवहारको चाहना राख्नेले अरूप्रति भने जालझेल र छलछाम गरेर कस्तो नैतिकता प्रदर्शन गर्ने ? एकोहोरो मुख छाडने, तथानाम गाली गर्ने, भिडियो खिच्ने, लगत्तै अपलोड गर्ने, सामाजिक सञ्जालमा आज पर्यटनमन्त्रीको रामधुलाई गरियो भन्दै पोष्ट गर्नेको नियत के हो ? भिजिट नेपाल २०२० आउँदै गरेका बेला त्यसको नेतृत्व गर्ने पर्यटनमन्त्रीमाथि बिमानभित्रै भएको यस्तो हर्कत थाहा पाउने बिदेशी चाही नेपालमा सुरक्षित हुन्छन् ? के शन्देश दिन खोजिएको हो ? बिरोधका नाममा बिमानभित्रै गरिएको अराजक र उदण्ड व्यवहारलाई कानूनले के भन्छ ? यस्ता कुरा तत्काल छानविन गरिनु पर्छ । र यस्ता निकृष्ट पात्रहरुलाई बिना कुनै मोलाहिजा जेलमा कोच्नुपर्छ ।

लामो समय सत्ता बाहिर बस्ने अनुभव नभएको नेपाली कांग्रेस पाँच वर्षसम्म बाहिर बस्नु पर्ने कुराले प्रसवपीडामा रहेको सहज बुझ्न सकिन्छ । राजनीतिक संक्रमणमा धमिलो पानीमा माछा मार्न पल्केकाहरु, नौ–नौ महिनामा सरकार बनाउने र ढलाउने खेल खेलिरहेका खेलाडीहरु, यसबाट आनन्द लिनेहरु तथा यसबाट प्रशस्तै लाभमा पदहरु हासिल गरेकाहरुकोे छटपटी देखिन्छ यतिबेला । सरकारलाई कसरी बदनाम गर्न सकिन्छ भनेर एउटा पंक्ति हात धोएर लागेको छ । सत्ताको स्वाद लिएकाहरु सरकारको जेसुकै होस, मेरो चाँहि आर्थिक लाभ होस भनेर बसिरहेका छन । ठीक बिपरित स–सानो छिद्र पाउनासाथ सरकारलाई बदनाम गर्ने, कमजोर पार्ने र जनमानसमा वितृष्णा सिर्जना गर्ने तथा सरकारले गरेका कार्यको भ्रमपर्ने गरी तोडमोड, उल्टोपाल्टो गरी परिभाषित गर्ने काममा एउटा झुण्ड लागि परेको छ ।

सरकारले राम्रा काम नगरोस, गर्न पनि नपावस, नराम्रा काम गरोस यसैमा बाजा बजाउन पाइयोस भनेर अहिले पनि त्यस्ता तत्व अर्धचेत अवस्थामा बहुलाई रहेका छन् । यसभित्र बेग्लै स्वार्थ र उदेश्य लुकेको छ । तथापि सरकारले पनि जनताले छिटो छिटो डेलिभरी देओस् भन्ने अपेक्षा छ, परिणाम देखाउने गरी काम गरोस भन्ने छ । यसलाई सकारात्मक र माग निर्देशनका रुपमा लिनु पर्दछ । जनताका तहबाट आएका गुनासा र भावनालाई भने सम्बोधन गर्न जरुरी छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारमाथि जसरी नागरिकको बिश्वास छ, त्यसरी नै बिरोधीको चौतर्फी घेराबन्दी र आव्रmमण भइरहेको छ । त्यो सरकार माथिको घेराबन्दी र आक्रमण होइन, यो कुरा आम नेता तथा कार्यकताले बुझन आवश्यक छ ।

वाह्य रुपमा सरकार माथि आक्रमण देखिए पनि गहनरुपमा हेर्दा यो कम्युनिष्टहरु माथिको आक्रमण हो भनी बुझन कठिन नहोला । वर्तमान शासन ब्यवस्था र प्रणालीलाई असफल तुल्याई सिंगो नेपाललाई असफल बनाउने षडयन्त्रको जालो हो यो प्रकरण । यो सरकार असफल हुँदा कम्युनिष्ट आन्दोलन, संघीयता, राजनीतिक परिवर्तन र गणतन्त्र धरापमा पर्छ । त्यसपछि नेपाललाई असफल राष्ट्र घोषणा गरेर संयुक्त राष्ट्र संघका नाममा शासन चलाउने र नेपाललाई कंगो, हाइटी बनाउने षडयन्त्र हुनसक्छ । सरकार चनाखो बन्न आवश्यक छ । सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक बनाउन लागिरहेको बेला यस्ता अराजक झुण्डसामु सरकार अलिकति पनि लचक हुन जरुरी छैन । कानूनको दायरामा ल्याएर सवैलाई पाठ सिकाउन अव ढिलाई गर्न हुन्न ।