काठमाडौं, भदौ २९
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थलमा भएको घटनाका विषयमा संसदलाई जानकारी गराउनु हुने भएको छ । उहाले यसविषयमा सामाजिक सञ्जालमा प्रष्टीकरण दिईसकेको भएपनि प्रश्न उठेकाले संसदमै बोल्ने बताउनु भएको हो ।
नेपालगञ्ज विमानस्थलमा पूर्वराजावादीका केही समुहले मन्त्रीले घन्टौ कुराएको भनेर दावी गरेका छन् । उनिहरु विभिन्न अपशब्द बोल्दै गरेको आफ्नै भिडियो सामाजिक सञ्जालमा समेत हालेपछि मन्त्रीले यसविषयमा संसदमा कुरा उठाउने बताउनु भयो । मन्त्री भट्टराईले आज संसदमा आफ्ना मन्त्रालयका कामकारवाहीका विषयमा सांसदसँग प्रश्नोत्तर कार्यक्रम रहेको छ । ‘धेरै त मैले फेसबुकबाटै प्रष्ट पारिसकेको छु । अझै अन्योल छ भने संसदमा पनि यसबारेमा बोल्छु’, उहाले भन्नुभयो ।
‘मन्त्री आउने थाहापाएपछि मात्र हुलहुज्जत’
मन्त्री भट्टराईको सचिवालयका अनुसार नेपालगञ्ज विमानस्थलबाट अन्तिम उडान साँझ ६ः२५ को थियो । त्यतिबेलासम्म आइपुग्न भनेको थियो बुद्ध एअरले ।
बीच बाटोमै थाहा भयो– बुद्ध एअरको विमान नेपालगञ्ज आउन नै ढिला भयो । विमान ६ः३२ मा मात्र नेपालगञ्ज एअरपोर्टमा अवतरण भयो । ६ः४० मा यात्रुले बोर्डिङ पास लिन थाले । भट्टराईको सचिवालय भन्छ– बोर्डिङ शुरू भएपछि मन्त्रीसँग बुद्ध एअरका कर्मचारी र विमानस्थल प्रमुखको कुराकानी भएको थियो र ६ः५० सम्म आइपुग्न अन्तिम समय दिइएको थियो ।
सबै यात्रुको बोर्डिङ हुन १० मिनेट लाग्ने र त्यहीबीचमा मन्त्री आइपुग्ने कर्मचारीले अनुमान गरेका हुनसक्ने सचिवालय बताउँछ । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाही र उनका केही साथी पनि सोही विमानबाट काठमाडौं फर्कंदै थिए । उनीहरुले मन्त्रीका कारण बोर्डिङ ढिलाइ भएको थाहा पाए । ६ः४९ मा विमानबाट ओर्लिएर उनीहरुले नै हुलहुज्जत गर्न थालेका थिए ।
निर्धारित तालिकाअनुसार ६ः५० मै विमान उडेको भए मन्त्री छुट्ने थिए, किनभने त्यतिबेलासम्म मन्त्री विमानस्थल आइपुगेकै थिएनन् । तर ज्ञानेन्द्र शाहीलगायत जहाजबाट ओर्लिएर रनवेमै नाराबाजी गर्न थालेपछि विमान उड्न नपाएको मन्त्रीको सचिवालयको तर्क छ ।
“६ः५६ मा हामी आइपुगेका थियौं । ६ः५८ मा जहाजभित्र पसेका थियौं । ७ः०१ मा विमान उडेको थियो, ८ः०५ मा काठमाडौं अवतरण भएको थियो । मन्त्रीका कारण जम्माजम्मी २० मिनेट ढिला भएको हो,” सचिवालयको प्रष्टीकरण छ ।
प्रतिक्रिया दिनुहोस्