जनता टाइम्स

२४ कार्तिक २०८०, शुक्रबार १४:०४

थवाङ विचार र क्रान्तिको प्रतीक हो : प्रधानमन्त्री


रोल्पा, २४ कात्तिक । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताउनुभयो । आज रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताउनुभएको हो ।

‘झण्डै ६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ । म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ । जनयुद्धको तयारी, उठान र सञ्चालन यहीं आधार बनाएर गरिएको थियो । थवाङ विचार र क्रान्तिको प्रतीक हो । यसले विचार दियो, गुणात्मक परिवर्तन दियो । एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ ।

यहाँ आएर फर्किंदा म जहिले पनि उर्जा लिएर फर्किन्छु, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘थवाङलाई देशले मात्रै चिन्दैन, सिंग‍ो विश्वले चिन्छ । यसबाट बेलाबेला संसारलाई नै महत्त्वपूर्ण सन्देश दिन्छ । क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा हुँदैन । त्यो बांगोटिंगो हुन्छ । यो कहिले अघि बढ्छ, कहिले एक कदम पछाडि हट्छ । यो विज्ञानको नियम ह‍ो । जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो । अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं। संंविधानमा नै समाजवादको संकल्प गरिएको छ, त्यसका लागि नयाँ अभियान चाहिन्छ ।’

आगामी विशेष महाधिवेशनमा समाजवादको बाटो थप स्पष्ट पार्ने र विचारको विकास र संश्लेषण र समाजवादी क्रान्तिको तयारीको चरणमा समाजवादको आधार तयार पार्ने विचार चाहिने भन्दै उहाँले भन्नुभयो, ‘रोल्पा, रूकुम, सल्यान, जाजरकोट लगायतका जिल्लाहरूले क्रान्तिको अगुवाइ गरे । आजको नयाँ परिस्थितिमा नयाँ ढंगले क्रान्तिको नेतृत्व गर्नुपर्छ। समाजवादी क्रान्तिको लागि थवाङले फेरि पनि अग्रणी भूमिका खेल्नुपर्छ ।

शान्तिप्रक्रियापछि हामी माओवादीहरू विभाजित भयौं । अहिले क्रमशः एकताको आधार तयार हुँदैछ । विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ । हामी छिट्टै एकतावद्ध हुन्छौं । समाजवादको आधार तयार पार्ने उद्धेश्यले नै केही नयाँ काम सुरू गरेका छौं । सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतामा सरकार अगाडि बढिरहेको छ । मिटरब्याज पीडित किसानलाई न्याय दिइएको छ ।

यो निकै ठूलो काम हो । सरकारले विदेशमा रहेका लाखौं नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेको छ । यसले विदेशमा रहेका लाखौं नेपाली र उनीहरूका परिवारको भविष्य सुरक्षित गरेको छ । अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको छ । नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा सरकारले जुन कदम थाल्यो, सुशासनका पक्षमा यति ठूलो अभियान कहिल्यै चलेको थिएन। यस्ता धेरै काम वर्तमान सरकारले गरिरहेको छ ।’