जनता टाइम्स

२४ कार्तिक २०८०, शुक्रबार १८:३७

ट्राफिक प्रहरीद्वारा १८ वटा सवारीसाधन हस्तान्तरण


काठमाडौं, २४ कात्तिक । विभिन्न मितिमा हराएका १८ वटा दुईपाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । सोही कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १२ वटा मोटरसाइकल र ६ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले हराएका सवारीसाधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको बताउनुभयो । सवारी धनी स्वयम् पनि विशेष सजग हुनुको साथै सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, सुरक्षा साइरनहरू जडान लगायतका विभिन्न उपायहरू अवलम्बन गर्न उहाँले आग्रह गर्नुभयो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त ८३२ ओटा निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका १७७ मध्ये १३४ वटा सवारीसाधन चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाएको छ । चालु आर्थिक वर्षमै चोरीका ११ ओटा मोटरसाइकलसहित संलग्न १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाहीका लागि विभिन्न प्रहरी कार्यालयमा पठाएको छ ।