जनता टाइम्स

२५ कार्तिक २०८०, शनिबार १८:३०

सरकारको निर्णय : भूकम्पपीडितलाई अस्थायी घर बनाउन प्रतिपरिवार ५० हजार


काठमाडौं, कात्तिक २५ । सरकारले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घरबास गुमाएका पीडितहरूलाई अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले भूकम्पपीडितलाई तत्काल अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले पीडित परिवारलाई जस्तापाता खरिद लगायत अस्थायी आवास निर्माण सामग्रीका लागि राहत दिने तयारी अघि बढाएको हो । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, सहरी विकासमन्त्री सीता गुरूङलगायत विपद् र सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।

गत कार्तिक १७ गते गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका ३५ हजारभन्दा धेरै परिवार घरबासविहीन भएका छन । चिसो बढेसँगै सरकारमाथि तत्काल आवास निर्माणको दवाव परेको छ ।