जनता टाइम्स

२१ बैशाख २०७६, शनिबार १७:४७

बढ्यो सरकारी जग्गा अतिक्रमण : गोरखामा एअरपोर्ट, खेल मैदानदेखि अस्पतालसम्मको जग्गा मिचियो


गोरखा, बैशाख २१

सार्वजनिक जग्गा हडप्ने प्रपञ्च जिल्ला जिल्लामा पनि अत्यन्तै बढेको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष पहलमा लामो समयदेखि हडपिएको बालुवाटारको सरकारी जग्गाको बिषय सार्वजनिक भएसँगै जिल्ला जिल्लामा पनि सरकारी जग्गा अतिक्रमण गर्ने क्रम बढेको तथ्य सार्वजनिक हुन थालेको हो ।

भूमाफियाको कारण गोरखा जिल्लाकै एक मात्र हवाई मैदान पालुङटार हवाई मैदानको तीन सय १० रोपनी, तीन आना दुई पैसा एक दाम जग्गा अहिले साँघुरिएको पाइएको छ । कति मिचिएको भन्ने यकिन नभएपनि पुर्जामा भएअनुसार जग्गा अहिले नरहेको पालुङटार नगरपालिका उपप्रमुख पम्फा बसेलले जानकारी दिनुभयो ।

‘पुर्जा हामीसँग छैन, नागरिक उड्डयन प्राधिकरणको नाममा छ, पहिले भएका तारबार ठाउँ सरेको छ, सडक पनि विमानस्थलकै जग्गाबाट खनिएको छ,’ स्थानीयबासीको भनाई उधृत गर्दै बसेलले भन्नुभयो । उहाँका अनुसार नगरपालिकाले कार्यपालिकाको बैठकबाट निर्णय गरेर नागरिक उड्डयनलाई जग्गा यकिन गर्न पत्राचार गरेको भए पनि केही खबर आएको छैन ।

साबिकको गाईखुर गाविसमा पर्ने कित्ता नम्बर ७२० को ९७ रोपनी ११ आना, पालुङटार ९ को किनं १९९५ को दुई सय १२ रोपनी एक आना, कित्ता नम्बर १७०२ को तीन रोपनी ५ आना र १७०७ को १९ रोपनी आठ आना जग्गा रहेको नापी कार्यालयको फिल्डबुकमा उल्लेख छ । पहिले तारबार गरिएको सो जग्गा अहिले तारबार सार्दै अतिक्रमण भएको हो । गौचरन र सडकले विमानस्थलको जग्गा झनै खुम्चिएको र अतिक्रमण गर्नेलाई सहज बनाईदिएको स्थानीयबासीको भनाई छ ।

हवाई मैदान मिचिएको बिषयमा गतसाता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई पालुङटारका स्थानीयले ‘हेल्लो मुख्यमन्त्री’ कार्यक्रममा गुनासोसमेत गरेका थिए । यसैगरी जिल्ला अस्पतालको जग्गासमेत भूमाफियाले अतिक्रमण गरेको पाइएको छ । २०४१ सालमा गोरखा अस्पतालको नाममा दर्ता भएको गोरखा नगरपालिका ६ अस्पताल मार्गको जग्गा १९ रोपनी ११ आना थियो, अहिले करिब १६ देखि १७ रोपनीमा खुम्चिएको छ ।

गोरखा सदरमुकामको मुख्य बजार क्षेत्रमा रहेको अस्पताल आसपास अहिले ठुलाठुला घर बनेका छन । अस्पतालको जग्गाबाट सडक खनिएको छ भने केही घरको आगन पनि अस्पतालको जग्गामा छ । ‘जग्गा मिचिएको छ भनिन्छ, तर छुट्याउन सकेका छौनौं,’ अस्पतालका प्रमुख डाक्टर श्रीराम तिवारीले भन्नुभयो ।

जिल्ला खेलकुद विकास समितिको नाममा रहेको जग्गा पनि साँघुरिएको छ । गोरखा सदरमुकामको मुख्य बजार क्षेत्रको बीच भागमा करिब २४ रोपनीभन्दा बढि जग्गा समितिको नाममा भएपनि अहिले मैदान साँघुरिएको छ ।