जनता टाइम्स

६ मंसिर २०८०, बुधबार ०९:०१

एमाले केन्द्रीय कमिटी बैठक आज, यस्ता छन एजेण्डा


काठमाडौं, मंसिर ६। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।

आज बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा मंसिर दोस्रो सातादेखि सुरु हुन लागेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र युवा संघले मंसिर ७ गते काठमाडौंमा गर्ने प्रदर्शनबारे छलफल हुने जानकारी नेताहरुले दिएका छन ।

एमालेको भातृ संगठन युवा संघ र अनेरास्वबियुले महँगी, भ्रष्टाचार र सबै किसिमका अराजकताविरुद्ध भन्दै काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्दैछ । यसैगरी मंसिर १४ गतेदेखि दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर अभियान सुरु गर्दैछ ।

यिनै कार्यक्रमको पूर्व तयारीका लागि केन्द्रीय समिति बैठक बस्न लागेको एमालेले जनाएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल हुने बताइएको छ ।