जनता टाइम्स

१२ मंसिर २०८०, मंगलवार १३:२६

उर्लाबारीमा आगलागी : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो


विराटनगर, १२ मंसिर । मोरङको उर्लाबारी आगलागी परी घाइते भएका राम नरेश मरिता (यादव) को उपचारका क्रममा निधन भएको छ । काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उर्लाबारी –७ का ४३ वर्षीय यादवको उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो।

अस्पतालको आईसीयू कक्षमा उपचाररत यादवको सोमबार राति ११ बजे निधन भएको दासले बताउनुभयो । यादवको मृत्यु भएसँगै घटनामा ज्यान गुमाउनेको सङ्ख्या ५ पुगेको छ । यसअघि तपन पण्डित, कुमार दाहाल ,कुमार तामाङ र रुकुमबहादुर कार्कीको मृत्यु भएको थियो ।

गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी –७ दीपक कार्कीको सुन पसलमा अचानक आगलागी हुँदा आगो निभाउने क्रममा ४ प्रहरीसहित २८ जना घाइते हुनुभएको थियो ।

कीर्तिपुर बर्न अस्पतालमा २० जना घाइतेहरू उपचाररत रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । जसमध्ये आइसियु कक्षमा २ जना उपचाररत रहेको प्रहरीले बताएको छ ।