जनता टाइम्स

१४ मंसिर २०८०, बिहीबार १०:५८

नेपाल एयरलाइन्सको लापरवाही : यात्रुलाई अलपत्र पारेर प्रधानमन्त्री लिएर उड्यो


काठमाडौं, १४ मंसिर । नेपाल एयरलाइन्सले बुधबार बेलुका टिकट लिएर विमानस्थल पुगेका यात्रुलाई अलपत्र पारेर प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टिमलाई लिएर उडेको छ ।

निगमले प्रधानमन्त्री दाहालसहितको टिमलाई लैजानको लागि यात्रुलाई अलपत्र पारेको हो । नेपाल एयरलाइन्सको बुधबार राति ११ः३० मा काठमाडौं–दुबई उडान थियो । सोहीअनुसार यात्रुहरु विमानस्थल पुगिसक्नु भएको थियो ।

निर्धारित समयमा यात्रुहरु ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसक्नु भएको थियो । त्यहाँ गएपछि उहाँहरुलाई थाहा भयो । नियमित उडान समयभन्दा दुई घण्टा अघि सारेर प्रधानमन्त्रीलाई लिएर जहाज दुवई उड्यो ।

८ः३० बजेसम्म ३१ जना यात्रुहरु बोर्डिङ पास कक्षमा पुग्नुभएको थियो । यात्रुमध्ये प्रज्वल विक्रम राणा कोप–२८ मा भाग लिन दुबई जाँदै हुनुहुन्थयो । उहाँ पनि बोर्डिङ पासको लागि ८ः३० मा एयरपोर्ट पगिसक्नुभएको थियो ।

राना बोर्डिङ पासको लागि सेक्युरिटी चेक गरेर भित्र पस्नुभयो । सेक्युरिटी चेकिङ पनि अरु दिनको तुलनामा कडा थियो । उहाँले त्यहाँ सोधे पनि– जवाफ आयो, भीभीआईपीको सवार छ । उहाँसहित ३१ जनाको टिकट हातमै थियो । जुन टिकटमा फ्लाइट समय साढे ११ बजे राखिएको थियो ।

उहाँहरुले कर्मचारीसँग सोध्नुभयो । त्यहाँको कर्मचारीले फ्लाइट दुई घण्टा अघि सारेको जानकारी दिए । “त्यतिमात्र नभएर फ्लाइट सारिएको बारेमा सबैलाई सूचना गरेका थियौं,” भन्दै कर्मचारीले जवाफ दिए । जबकि ३१ जनामध्ये एक जनालाई पनि फ्लाईटको विषयमा कुनै पनि सूचना आएको थिएन । उहाँहरु अक्कबक्क पर्नुभयो ।

उहाँहरुले चित्तबुझ्दो जवाफ नपाएपछि पुनः यस्तो कसरी हुन्छ ? भन्दै प्रश्न गर्नुभयो । “एकछिन ड्युटी अफिस आउने र सबै कुरा उहाँहरुबाट नै सोध्नु होला,” उहाँलाई जवाफ आएको थियो । ड्युटी अफिसर एक घण्टा ढिला आएर माथिको आदेशानुसार काम भएकाले केही भन्न नमिल्ने जवाफ फर्काएका थिए ।

राति विमानस्थल पुगेका ३१ जना यात्रुलाई अहिले काठमाडौंको एक होटलमा राखिएको छ । नेपाल एयरलाइन्सले भने आफूले पहिले नै यात्रुलाई खबर गरेको दाबी गरेको छ ।

एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले भने, “हामीले सबै यात्रुलाई जानकारी गराएका थियौँ । उहाँहरु किन छुट्नुभयो भन्ने जानकारी पाउन सकेनौँ । छुटेका यात्रुहरुलाई अरु विमानबाट पठाउनेछौँ ।”