अछाम, मंसिर १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र सवल बनाउनका लागि अभियान थालिएको प्रष्ट पार्नुभएको छ । उहाँले एमालेले आफ्नो शासनकालमा देशेको अर्थतन्त्र सबल बनाएको तथ्य पनि राख्नुभएको छ ।
नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा कार्यक्रम अन्तर्गत आज बिहान अछामको चौखट्टामा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सबल बन्दै गएको अर्थतन्त्र सरकारकै कारण अहिले पछाडि फर्किएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । ‘त्यही चिन्ता जाहेर गर्न हामी यो अभियानमा जुटेका छौँ’, ओलीले भन्नुभयो ।
एमालेले सुरु गरेको अभियानमा नागरिक सहभागिता देखेर आफूहरू उत्साहित भएको ओलीले बताउनुभयो । ओलीले एमालेको अभियानमा सहभागिता जनाउने नागरिक प्रति आभार व्यक्त गर्नुभयो । देशको उन्नति र प्रगतिमा एमालेको सधैँ साथ रहने ओलीले प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
‘यहाँहरूसँग हाम्रो जसरी भेटघाट भएको छ, यस भेटघाटले हामी उत्साहित छौँ, हाम्रो आत्मविश्वास बढेको छ, साँचै यहाँहरूको जागरणले पुष्टि गर्दछ नेपाल हामी अब समृद्ध बनाउन सक्दछौँ, नेपाली जनतालाई सुखी बनाउन सक्दछौँ’, ओलीले भन्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले सरकारमा हुँदा नयाँ काम सुरुवात गरेको ओलीले स्मरण गराउनुभयो । महिनावारीको कारण विद्यालय जान नसक्ने छोरीहरूलाई एमाले सरकारकै पालामा सेनिटरी प्याड व्यवस्था गरेको उहाँले स्मरण गराउनुभयो । एमालेले यस्ता धेरै नयाँ र विकासका काम गरेको ओलीले बताउनुभयो ।
विभिन्न रणनीतिक महत्वका सडक, अस्पताल, पुल, विद्यालय लगायतका कयौँ संरचना एमालेको पालामा बनेको ओलीले उदाहरण प्रस्तुत गर्नुभयो । एमालेले साँढे तीन वर्षको अवधिमा थुप्रै विकास कामहरू अभियानका रूपमा सञ्चालन गरेको ओलीले जानकारी दिनुभयो ।
संकल्प यात्रा विकासबाट पछाडि परेको मध्य पहाडी भेगका जनता र विकास अवस्था हेर्न आयोजना गरिएको ओलीले बताउनुभयो । जनताहरूसँग प्रत्यक्ष संवाद गरी विकासको सम्भावना खोजीनिती गर्न यात्रा आयोजना गरिएको ओलीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्