जनता टाइम्स

१६ मंसिर २०८०, शनिबार १६:५०

पुँजीगतभन्दा सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीको खर्च तीन गुणा बढी, चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण


काठमाडौं, मंसिर १६ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा (चौमासिक अवधि) ५७ अर्ब ७१ करोड रुपैयाँ भन्दा बढी सार्वजनिक ऋण थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । कार्यालयका अनुसार गत असार मसान्तसम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख रुपैयाँ बराबर सार्वजनिक ऋण रहेकोमा कात्तिक मसान्तसम्म पुग्दा २३ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ नाघेको हो ।

कार्यालयको गत कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार हालसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख रुपैयाँ रहेको छ भने बाह्य ऋण ११ खर्ब ७३ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक बर्षको चार महिनामा सरकारले आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीमा ६५ अर्ब ४५ करोड ८३ लाख र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा १६ अर्ब १८ करोड ६१ लाख रुपैयाँ बराबर भुक्तानी गरेको सो कार्यालयले जनाएको छ ।

यही अवधिको ऋण प्राप्तिको अवस्था हेर्दा साउनदेखि कात्तिक मसान्तसम्ममा ९७ अर्ब ३१ करोड रुपैयाँ बराबर आन्तरिक ऋण र १५ अर्ब ८५ करोड ३० बाह्य ऋण गरी कूल एक खर्ब १३ अर्ब १६ करोड ३० लाख रुपैयाँ बराबर ऋण उठाइएको छ ।

चालु आवको पहिलो चौमासिक अवधिमा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा गरिएको खर्च तीन गुणाले बढी रहेको तथ्यांकले देखाएको छ ।

गत कात्तिक मसान्तसम्ममा सरकारले २९ अर्ब ९८ करोड ९४ लाख बराबर रुपैयाँ पुँजीगत खर्च गरेको छ । यही अवधिमा सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीमा भने ८१ अर्ब ६४ करोड ४४ लाख रुपैयाँ बराबर खर्च गरेको हो ।