रुपन्देही, मंसिर १७ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीसहितको टोली मंसिर २० गते गुल्मी आइपुग्ने कार्यक्रम तय भएको छ ।
समृद्धिका लागि संकल्प यात्राअन्तर्गत बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भन्ज्याङसम्मको यात्राको कार्यक्रमको सिलसिलामा मंसिर २० गते मुसिकोट नगरपालिकाको वामीटक्सारमा हुने विशाल सभामा सम्बोधन गर्न एमाले अध्यक्षसहितको टोली आउन लाग्नुभएको हो ।
नेकपा एमाले गुल्मीले आइतबार तम्घासमा भएको तयारी र पार्टीले गर्न लागेका विभिन्न कार्यक्रमहरुको बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले विशाल सभाको तयारीस्वरुप सबै पालिकामा नेता कार्यकर्ताहरुलाई उपस्थित हुन निमन्त्रण गर्नेदेखि आमसभा हुने स्थानको तयारीमा पार्टी लागेको बताउनु भयो । सो सभामा १० हजार बढी अगुवा नेता कार्यकर्ता उतार्ने गरी एमालेले तयारी गरेको काउछाले बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा संघीय सांसद सूर्य थापाले पार्टीले सञ्चालन गरेको समृद्धिको यात्राले जनतामा थप उत्साह पैदा भएको बताएउनु भयो । यात्राले पार्टी र जनतामा थप ऊर्जा ल्याएको भन्दै एमाले गुल्मी इन्चार्जसमेत रहेका थापाले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भन्ज्याङसम्मको यात्रामा जनताका गुनासा, सल्लाह सुझावले पार्टीलाई थप बलियो बनाउने बताउनु भयो ।
‘यात्रा मध्यपहाडी लोकमार्गको अडिटिङ पनि हो’, थापाले भन्नुभयो, ‘एमाले जनताका सुखदुःखमा साथमा रहेको विषय जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा खटिएको स्वंयसेवकको टोलीले समेत पुष्टि गरेको छ ।’
प्रतिक्रिया दिनुहोस्