जनता टाइम्स

१८ मंसिर २०८०, सोमबार १४:०८

सुनको मूल्यबृद्धिमा दिनदिनै नयाँ रेकर्ड, तोलाकै १ लाख २२ हजार नजिक


काठमाडौं, मंसिर १८ । बिहेको सिजन चलिरहँदा नेपाली बजारमा सुनको भाउले लगातार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबारको तुलनामा बुधबार सुनको भाउमा प्रतितोला ८ सय रुपैयाँ बढेको हो ।

आइतबार भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजाबी सुन प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी भने तोलाको १ हजार ५ सय ४५ रुपैयाँ रहेको छ । आइतबार चाँदीको भाउ प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ नै थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको हो । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो । गत कात्तिक १२ गते सुनको भाउ प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ कायम भएको थियो । त्यसपछि कात्तिकमा लगातारजसो सुनको मूल्यमा गिरावट आएको थियो ।

कात्तिक २७ गते प्रतितोला १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंसिर लागेसँगै बढ्न थालेको हो । मंसिर १ गते छापावाल सुन प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि भने सुनको मूल्य भने बढिरहेको छ ।