बेलायत, मंसिर १९ । बेलायतको नेपाली समुदायमा अर्को दुःखद घट्ना भएको छ । यही २९ नोभेम्बरमा पढ्न बेलायत आइपुगेकी स्यांजाकी कमला गुरुङको चार दिनमै सोमवार असामयिक निधन भएको हो ।
२२ जनवरी, १९९२ मा जन्मिएकी कमलाको स्थायी घर ओरस्ते ४ बिरुवा स्याङ्जामा रहेको बताइएको छ ।
बीपीपी यूनिभर्सिटी वेष्ट लण्डनमा मास्टर्स गर्न आएकी ३१ बर्षीया कमलालाई डिसेम्बर ३ तारिख बिहान पेट दुख्ने, वान्ता र दिसा लागेपछि घरमै तातोपानी ख्वाएर राखिएको थियो ।
दिउसो ३ बजेतिर सिकिस्त भएपछि एम्बुलेन्स बोलाएर रेडिङस्थित रोयल बर्कसायर अस्पतालको इमर्जेन्सी लगिएको र अस्पतालमा मृत्यु भएको हो । साँझ ८ बजेतिर अस्पतालका ‘इन्टरप्रेटर’ ले उनको काकालाई फोन गरी कमलाको निधन भएको जानकारी दिएका थिए ।
त्यसपछि रेडिङमै बस्ने मिडियाकर्मी विषन गुरुङले गैरआवासीय नेपाली संघ बेलायत (गाहामगर समूह) अध्यक्ष प्रेम गाहामगरलाई ९ बजे फोन गरेर सहयोगका लागि अपिल गर्नुभएको छ ।
अनि गाहामगरले रातीनै कमलाका श्रीमान् निरज गुरुङलाई फोन गरेर सान्त्वना दिंदै ‘तपाईं यहाँ आउनुस् के कस्तो सहयोग गर्न सकिन्छ गरौंला’ भनेर वाचा गरेका थिए ।
गाहामगरले स्वर्गीय कमलाका श्रीमान् निरज गुरुङ भोलि ५ डिसेम्बर दिउँसो २ बजे लण्डन आइपुग्ने बताउनु भयो । श्रीमान् निरजको भिसा आउन ४ दिन ढिलाई भएकाले उनीहरु संगै बेलायत आउन पाएका थिएनन।
अध्यक्ष गाहामगरले स्याङ्जा समाज यूकेका नवनिर्वाचित अध्यक्ष भरत गुरुङ र ग्रेटर रेडिङ नेप्लिज कम्युनिटी अध्यक्ष भिमसेन खड्कालाई राती नै इमेल र फोन गरेर सहयोगका लागि संयुक्त पहल गर्न आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्