जनता टाइम्स

१९ मंसिर २०८०, मंगलवार ०८:४८

अपाङ्गता दिवसमा चिरिबाबुको सर्प्राईज : विश्व सम्पदा भ्रमणको उपहार पाउँदा सवै चकित


ललितपुर, मंसिर १९ । ललितपुरका मेयर चिरिबाबुमहर्जनले अपाङ्गता दिवसमा सर्प्राईज दिनुभएको छ । ललितपुर महानगरले ३२ औं अपाङ्गता दिवसको दिनमा विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा रहेका सुन्दरीचोक, मूलचोक, केशवनारायण चोक, भण्डारखाल बगैंचालगायतका महत्वपूर्ण सम्पदाहरुको अवलोकन गर्ने व्यवस्था मिलाएर अपांगता भएका ब्यक्तिहरुलाई सप्र्राइज दिएको हो ।

अपाङ्गता दिवस प्रत्येक वर्ष डिसेम्बर ३ मा मनाइन्छ । यो बर्षको यस दिन ललितपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई पाटन दरबारको अवलोकन गराएको छ । अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित र्‍यालीसहित विश्व सम्पदा सूचीमा समावेश भएको पाटन दरबारको सुन्दर स्थानहरुको अवलोकन गराएको हो ।

यसरी कहिलै नपुग्ने ठाउँमा पुग्दा उनिहरु खुसी व्यक्त गरे । ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रभित्र आयोजित कार्यक्रममा नगरप्रमुख चिरिबाबु मर्हजनले महानगरले हरेक वर्ष नयाँ कार्यक्रम आयोजना गर्न रुचाउने उल्लेख गर्नुभयो । त्यसअघि र्यालीको समापन कार्यक्रममा विगतदेखि नै अपाङ्गता भएका व्यक्तिका लागि केही नयाँ काम गरेको र यहि क्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई पाटन दरबारको अवलोकन गराएका प्रमुख चिरीबाबु महर्जनले बताउनु भयो ।

प्रमुख महर्जनले अपाङ्गता भएका व्यक्तिको कठिन जीवनयापनलाई सहज बनाउन योजनाबद्ध ढंगबाट काम गरेको जानकारी पनि दिनुभयो । ‘हामीले अपाङ्गता भएका व्यक्तिहरुको जीवन सहज बनाउन केही न केही नयाँ काम गर्दै आइरहेका छौँ, र्‍याम्प राख्ने काम पनि नयाँ हो उहाँहरुलाई सहज होस् भनेर बनाएका हौं, प्रमख महर्जनले भन्नुभयो ।

उहाँले यस वर्ष विश्व सम्पदा सूचीमा समावेश भएको पाटन दरबारभित्रको महत्वपूर्ण सम्पदा अवलोकन गराउने व्यवस्था मिलाएको प्रष्ट पार्नुभयो । अपाङ्गता भएकाहरुको कठिन जीवनयापनलाई सहज बनाउन आवश्यकता अनुसार नीति निर्माण गरी अघि बढने जानकारी पनि उहाँले दिनुभयो ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले अपाङ्गता भएका व्यक्तिको आवश्यकताप्रति सहजीकरण र समन्वय गर्न तीनै तहको सरकारलाई आवश्यक नीति तथा कार्यक्रम बनाउन प्रेरित गर्ने बताउनु भयो ।

ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुर महानगर अपाङ्गतामैत्री शहर भएको बताउँदै अपाङ्गताका सवालमा महानगर संवेदनशील भएको बताउनु भयो । उहाँले अपाङ्गता भएको लागि सहयोगी व्यवस्था गर्ने सन्दर्भमा भएको छलफल अन्तिम चरणमा पुगेको बताउनु भयो ।

वि सं २०७८ को जनगणना अनुसार नेपालमा अपाङ्गता भएकाको जनसख्या दुई दशमलव आठ प्रतिशत र ललितपुर महानगरमा एक दशमलव छ प्रतिशत रहेको ललितपुर महानगरकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाकी अधिकृत शोभा खरेलले जानकारी दिनुभयो ।

सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ३ लाई अपाङ्गता दिवस घोषणा गरेको थियो । अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवद्र्धन, समावेशीकरण, सशक्तीकरण र अपाङ्गताका विविध सवालमा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वमा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस सन् १९९२ बाट मनाउन थालिएको हो ।

यस वर्ष ‘दिगो विकास लक्ष्यप्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको छ ।