जनता टाइम्स

१९ मंसिर २०८०, मंगलवार १४:२२

६ जना युवाको कत्लेआम गरिएको सोती घटनासम्बन्धी मुद्दाको बहस सकियो, के आउला अदालतको निर्णय ?


रुकुमपश्चिम, मंसिर १९ । चौरजहारी नगरपालिका– ८ सोती गाउँमा जाजरकोटका नवराज विकसहित ६ जना युवाहरूको ज्यान जाने गरी भएको घटनासम्बन्धी मुद्दामा बहस सकिएको छ । अन्तरजातीय प्रेम सम्बन्धका कारण सो घटना भएको थियो ।

वादी र प्रतिवादीका कानुन व्यवसायीहरूको बहस सकिएको । अदालतका सूचना अधिकार गोविन्दप्रसाद कोइरालाका अनुसार वादीका तर्फबाट सरकारी वकिलसहित १६ जना र प्रतिवादीका तर्फबाट ५ जना कानुन व्यवसायीले बहस गरेका छन ।

२०७७ साल जेठ १० गते भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछुतको मुद्धामाथि रूकुम पश्चिमका जिल्ला न्यायधीश खड्गबहादुर केसीको इजलासमा आइतबारदेखि अन्तिम सुनुवाइ चलेको थियो । पेशी सुनुवाइ तोकिएको अघिल्लो दिनदेखि नै पीडित परिवारहरु र केही दलित अधिकारकर्मीहरु रुकुम जिल्ला अदालतको मूल गेटमा धर्ना दिएका छन ।

उनीहरूले न्यायको माग गर्दै नाराजुलुससहित धर्नामा बसेका हुन । रुकुम र जाजरकोटको सीमा भएर बग्ने भेरी नदी किनार सोती गाउँ नजिकै तीन वर्षअघि ६ जना युवाहरूले ज्यान गुमाएका थिए । जाजरकोटका नवराज बिक र रुकुमपश्चिमको सोतीगाउँकी ठकुरी परिवारकी किशोरीबीचको प्रेम सम्बन्धका कारण उक्त घटना भएको थियो। प्रेमिकालाई विवाह गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए ।

त्यही क्रममा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज बिक र सञ्जु विक, भेरी नगरपालिका–११ लोकेन्द्र सुनार र गोविन्द शाही, कुशे गाउँपालिका गणेश बुढा मगर र रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१ का टीकाराम नेपालीको ज्यान गएको थियो। ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।

पेसी सुनुवाइ तोकिएको अघिल्लो दिनदेखि नै पीडित परिवारहरू र केही दलित अधिकारकर्मीहरू रुकुम जिल्ला अदालतको मूल गेटमा धर्ना दिइरहेका छन । नवराजका बुवा मुनलाल नेपालीको जाहेरीका आधारमा सो घटनामा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलेको छ । उनीहरूमध्ये ११ जना तारेखमा छुटेका थिए भने २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

सो घटनालगत्तै रूकुमपश्चिमका सांसद एवं पूर्वमन्त्री जनार्दन शर्माले पीडकहरूलाई बचाऊ गर्ने गरी संसदमा ‘लकडाउन उल्लंघन गर्दै आएका युवालाईई गाउँलेले लखेट्दा भेरीमा हाम फाल्दा ज्यान गएको’ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।