जनता टाइम्स

३० भाद्र २०७६, सोमबार २२:५३

विमान उडाउनु अघि सरसफाइ र औषधि छर्किने व्यवस्था मिलाउन मन्त्री भट्टराईको निर्देशन


काठमाडौं, भदौ ३०

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले सबै विमानस्थल सफा राख्न तथा उडानपूर्व जहाजभित्र तोकिएको मापदण्ड अनुसार औषधि छर्किने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

डेंगीले गर्दा पर्यटन क्षेत्रमा असर नपरोस् भनेर उहाले सो व्यवस्था मिलाउन निर्देशन दिनु भएको हो । सोमबार मन्त्रालयमा आयोजित ‘डेंगीबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव र यसको निराकरणको विषयक’ कार्यक्रममा मन्त्री भट्टराईले मातहतका सबै निकायलाई सो निर्देशन दिनुभयो । साथै, नेपाल होटल संघ, रेष्टुरेन्ट व्यवसायी संघ, पर्यटक यातायात लगायत पर्यटकीय सेवा दिने विभिन्न निकायले आफ्नो क्षेत्र सफा राख्ने, पर्यटकलाई सुसूचित गर्ने तथा औषधिको समेत मापदण्ड अनुरूप गर्न गराउन मन्त्री भट्टराईले निर्देशन दिनुभयो ।

‘भ्रमण वर्ष–२०२०’ र नेपालको पर्यटन क्षेत्रमा यस रोगको कारणबाट पर्न सक्ने असर निराकरणका लागि आवश्यक तयारी तथा पूर्वसर्तकता अपनाउन सबै सरोकारवालाहरूलाई उहाले निर्देशन दिनुभयो । खुला क्षेत्र रहेका तथा पर्यटकहरूको बढी उपस्थिति रहने पशुपति क्षेत्र, लुम्बिनी क्षेत्र, जनकपुर क्षेत्र, पोखरा एवम् सौराहा लगायतका पर्यटकीय क्षेत्रमा सरसफाइ अभियान समेत चलाउन मन्त्री भट्टराईले निर्देशन दिनुभयो ।