जनता टाइम्स

३१ भाद्र २०७६, मंगलवार ०८:०६

कामको परिणाम : प्रहरीलाई अवार्ड नै अवार्ड


काठमाडौं, भदौ ३१ । ‘सत्य, सेवा, सुरक्षणम’ लाई मूलमन्त्र बनाएर नागरिकको शान्ति सुरक्षामा खटिएको नेपाल प्रहरीले उल्लेख्य सफलता हासिल गरेको तथ्यांकले देखाएको छ । निर्मला पन्तलगायतका एकादुई घटनाबाहेक सवैजसो अपराधका घटनामा नेपाल प्रहरीले सफलता हात पारेको तथ्यांक देखिएको हो । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालको दृढ अठोटसहितको कार्ययोजना र अपराध नियन्त्रणमा सून्य सहनशीलताको नीतिका कारण पछिल्लो समय प्रहरीप्रति नागरिकको बिश्वास ह्वात्तै बढेको छ भने ढिलोचाँडो अपराध अनुसन्धानमा दख्खल राखेर उपलव्धी प्राप्त गर्दै आएपछि नेपाल प्रहरी सवैतिर प्रशंसनीय बन्दै आएको छ ।

शान्ति सुरक्षा, अपराध अनुसन्धान, नियन्त्रणमा उल्लेखनीय काम गरेवापत प्रहरीमाथि जनताको विश्वास त छँदैछ, विभिन्न संघसंस्थाले पनि प्रहरीको मुक्तकण्ठले प्रशंसा गर्न थालेका छन । खनालको नेतृत्वपछि कतिपय सन्दर्भमा प्रहरीलाई निकै दुर्लभ कहलिएका अवार्डहरुबाट सुशोभित हुने अवसर प्राप्त भएको छ । प्रहरीले आफ्नो मुख्य भूमिका सुरक्षाका साथै आर्थिक सुशासन कायम गर्नमासमेत अब्बल भूमिका निर्वाह गरेको पाइएको छ । आन्तरिक रुपमा सुशासन कायम नगर्ने हो भने प्राप्त उपलव्धी पक्कै पनि उल्लेखनीय हुन सक्दैन । प्रहरीले आर्थिक सुशासन कायम गर्दै बेरुजु फस्र्यौट गरेको भन्दै सम्मानित भइसकेको छ ।

गृह मन्त्रालयअन्तर्गतका कार्यालयहरुमा पनि नेपाल प्रहरी बेरुजु फस्र्यौटमा सर्वोत्कृष्ट बनेको छ । यो सर्वोत्कृष्ठताका लागि गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरीलाई पुरस्कृत नै गर्नुभयो । बेरुजु फस्र्यौटमा नेपाल प्रहरीले आफूलाई सवैभन्दा अब्बल प्रमाणित नै गरेर देखाएको छ । आर्थिक वर्ष २०७३/०७४ सम्म ६८ करोड ४१ लाख ७० हजार रुपैयाँ बेरुजु थियो । प्रहरीले बेरुजुमा ८५ प्रतिशत फस्र्यौट गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७४÷०७५ सालसम्म कायम बेरुजु ६१ करोड, १३ लाख ८९ हजार मध्ये २०७६ असार मसान्तसम्म साढे ८८ प्रतिशत फस्र्यौट गरेको हो । यही नीतिका कारण आर्थिक अनुशासनमा प्रहरीले निरन्तर सफलता हासिल गरेको छ ।

त्यसैगरी, संयुक्त राष्ट्रसंघबाट समेत नेपाल प्रहरीले अवार्ड प्राप्त गरेको छ । युएनको वातावरण कार्यक्रम अन्तर्गत Environmental Enforcement Award 2018 पाएको छ । सूचना प्रवृत्तिको क्षेत्रमा समेत नेपाल प्रहरीले उत्कृष्ट काम गरेको पाइएको छ । सूचना प्रवृत्तिको क्षेत्रमा उत्कृष्ठ कार्य गरेको भन्दै जापानस्थित Asian-Oceanian Computing Industry Organization (ASOCIO) द्वारा ‘ASOCIO 2018 Digital Government Award प्राप्त गरेको छ ।

त्यस्तै, सूचना प्रविधिको प्रभावकारी उपयोग गरी नागरिकलाई सहज एवं सुलभ सेवा प्रवाह गरेको भन्दै नेपाल प्रहरीले ‘डिजिटल गभर्नेन्स आइसीटी अवार्ड २०१८’ प्राप्त गरेको छ । पछिल्लो समय प्रहरीले पाउन थालेको अवार्ड पनि निकै बढेर गएको छ ।