काठमाडौं, मंसिर २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सचिवहरुलाई दिएको निर्देशनको परिणाम निराशाजनक रहेको भन्दै कडा आक्रोश पाख्नुभएको छ ।
ललितपुरमा आज आयोजित नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रममा पधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो । उहाँले सोचेजस्तो शासकीय सुधारको काम गर्न नसकिएको भन्दै अब सरकारको ध्यान समग्र शासकीय प्रणाली सुधारमा केन्द्रित हुने बताउनु भयो ।
‘सोचेजस्तो शासकीय सुधारको काम गर्न सकिएन । अब खाली प्रशासकीय मात्रै होइन । समग्र शासकीय प्रणालीमा नै सुधार गर्ने कुरामा हामी छलफल गरेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘शासकीय सुधार आयोग निर्माण गरेर यसको समग्र समीक्षा गर्ने र अगाडि जाने प्रक्रियातिर हामी छौं । हामीले सेवा प्रवाहको क्षेत्रमा साना–साना कामहरुमा सुधार गरेर अनि ठूला–ठूला कामहरुलाई प्रायोटाइज गरेर जान जरुरी छ ।’
प्रधानमन्त्री दाहालले आफूले पहिलोपटक सचिवहरुलाई दिएको निर्देशनको परिणाम निराशाजनक रहेको भन्दै समस्या समाधानका उपाय खोज्नैपर्ने बताउनु भयो । ‘मैले पहिलोचोटी सचिवहरुलाई निर्देशन दिँदै गर्दा जुन ठोस रुपमा प्रस्तुत गर्ने कोशिस गरिएको थियो । त्यो नतिजा र परिणाममा हेर्दा त्यो उत्साहजनक होइन, निराशाजनक रह्यो । भनेजसरी अगाडि जान सकेन । त्यसकारण कहीँ न कहीँ यसमा समस्या छ र यसको समाधान गर्ने उपाय पनि हामीले खोज्नै पर्नेछ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।
प्रधानमन्त्री दाहालले २०७९ पुस २९ गते सरकारका सचिवहरुसँग बैठक गरी ३० बुँदे निर्देशन दिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्