जनता टाइम्स

२१ मंसिर २०८०, बिहीबार १२:०४

एमालेको संकल्प यात्रा टोली आज पोखरा आउँदै, अध्यक्ष ओलीले हेम्जामा सम्बोधन गर्ने


पोखरा, मंसिर २१ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्गमा सुरु गरेको ‘बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा’को टोली आज पोखरा आइपुग्दै छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा कास्कीमा आज बिहीबार र भोलि शुक्रबार तय भएका कार्यक्रमलाई भव्य बनाउन सम्पूर्ण तयारी पुरा भएको एमाले कास्कीले जनाएको छ ।

संकल्पयात्रा अन्तरगत कास्कीमा हुने कार्यक्रमलाई भव्य बनाउन सबै तयारी पुरा भएको एमाले कास्की उपसचिव एवं प्रचार विभाग प्रमुख दर्शन लामाले बताउनु भयो। कास्कीको कार्यक्रमलाई व्यवस्थित बनाउन यहाँ रहेका नेतालाई कार्यक्षेत्र बाँडफाँड समेत गरिएको कारण भव्य हुने उहाँले जानकारी दिनुभयो ।

टोली बिहीबार दिउँसो ३ बजे कास्कीको नयाँ पुल आइपुग्नेछ । त्यहाँ कास्की एमालेले टोलीलाई स्वागत र भेटघाट गर्नेछ । दिउँसो साढे ३ बजे अन्नपूर्ण गाउँपालिका नौडाँडामा समेत टोलीलाई स्वागत र भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि अध्यक्ष ओलीले साढे ४ बजे हेम्जाको मिलनचोकमा हुने कार्यक्रमलाई छोटो सम्बोधन समेत गर्नुहुनेछ ।

बिहीबार पोखरामा बस्ने ओलीले यहाँ रहदाँ विभिन्न क्षेत्रका व्यक्तिसँग भेटघाट र छलफल गर्ने कार्यक्रम समेत बनेको बताइएको छ । सो क्रममा कास्कीका विविध पक्ष सहित मध्यपहाडी लोकमार्ग अन्तरगत यहाँ देखिएको विवादको बारेमा समेत बुझ्ने बताइएको छ ।

मंसिर २२ गते शुक्रबार बिहान साढे सात बजे जिरोकिमीबाट ओली सहितको संकल्पयात्राको टोली अगाडि बढ्नेछ । सो टोलाीलाई पोखराको अम्मरसिंहचोकमा स्वागत र भेटघाट गरिनेछ भने बिहान ९ बजे तालचोक पुगेर पुनः ओलीले छोटो सम्बोधन गर्ने कार्यक्रम छ । रुपा गाउँपालिकाले तालबेसीमा स्वागत गरेपश्चात टोलीलाई रुपाको पिपलेबजारबाट विदाई गरिनेछ। त्यसपछि टोली लमजुङ तर्फ लाग्नेछ ।

२६ वटा जिल्ला र २ सय १५ वटा बस्तिसम्म फैलिएको मध्यपहाडी लोकमार्ग ०६९–०७० सालमा राष्ट्रिय गौरवको आयोजना घोषणा भएको थियो । राजमार्ग अन्तरगत हालसम्म ७२ प्रतिशत भन्दा बढी काम सम्पन्न भैसकेको छ ।

संकल्पयात्रामा व्यापक जनसहभागिता र जनसमर्थन रहेको एमालेले जनएको छ ।