जनता टाइम्स

२१ मंसिर २०८०, बिहीबार १५:४९

आजमात्र धुम्म भोलिदेखि घाम लाग्ने


काठमाडौं, २१ मंसिर । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान शाखाले भोलीदेखि मौसममा सुधार भएर दिउँसोको समयमा घाम लाग्ने बताएको छ । बिहीबार काठमाडौँसहित देशका विभिन्न भूभागमा बादल लागेर मौसम चिसो बनेको छ ।

भारतको छत्तिसगढ माथि विकास भएको बादल नेपाल प्रवेश गरेको र पश्चिमी वायुका कारण चिसो बढेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो। उहाँले भन्नुभयो –‘भारतको छत्तिसगढ राज्य आसपास न्यून चापीय प्रणाली छ त्यसको आंशिक प्रभावले गर्दा बादल लागिरहेको छ । बादल लागिरहेको बेला घाम लाग्ने कुरा हुँदैन त्यसले गर्दा चिसो भएको हो ।’

देशको कर्णाली र सुदूरपश्चिमबाहेक देशका अरू भागमा चिसो बढेको उहाँले जानकारी दिनुभयो । नगरकोटीले आजमात्र चिसो रहेको र भोलीदेखि भने घाम लाग्ने बताइन । उहाँले भन्नुभयो –‘बिहानतिर चिसो हुस्सु लाग्न सक्छ तर दिउँसो हटेर घाम लाग्ने सम्भावना छ । हिजो अस्तिदेखि नै पातलो बादल लागिरहेकोले र आज सो भन्दा बाक्लो बादल लागेकोले चिसो बढेको हो ।’

नेपाली आकाशमा लागेको बादल यही विकास भएको नभई भारतको छत्तिसगढबाट आएको उहाँले बताउनुभयो । कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशका केही भूभागमा छिटपुट वर्षा हुन सक्ने भएपनि अन्य क्षेत्रमा भने वर्षा नहुने बताउनुभयो ।

कोशीको हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । भोलि र पर्सी रातिको समयमा बादल नलाग्ने भएकोले तापक्रम घट्ने उहाँले बताउनुभयो । शुक्रबार कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सफा रहने विभागको भनाई छ ।