जनता टाइम्स

२३ मंसिर २०८०, शनिबार १५:३४

बालाचर्तुदशीको तयारी पूरा, यस्तो छ शतबीज छर्ने प्रबन्ध


काठमाडौं, मंसिर २३ । बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको हो ।

आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढङ्गले कार्यसम्पन्न गर्नेसम्मको व्यवस्था मिलाइएको कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाका अनुसार बालाचर्तुदशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको छ ।

कुनै पनि घटना नहोसभ नेर नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर बनाई संयुक्त सुरक्षा योजनाअनुसार भक्तजनको सुरक्षाका लागि कोर क्षेत्रमा शतबीजमार्ग र बत्ती बाली बस्ने स्थानमा पर्याप्त सुरक्षाकर्मी खटाउने ब्यवस्था मिलाइएको हो । कोषका अनुसार मृगस्थलीभित्र मृग राखेको स्थानमा पनि शतबीज छर्ने परम्परा भएको मृगस्थली प्रवेश गर्ने द्वारमा पनि विशेष सुरक्षाकर्मीको टोली परिचालन गरिने छ ।

कोषले पर्व, मेला र विशेष अवसरमा चोरीका घटना पनि हुनसक्ने सभावनालाई मध्यनजर गरी बहुुमूल्य गरगहना लगाएर नआउन पनि भक्तजनलाई आग्रह गरेको छ । यसैगरी छालाको जुत्ता पनि नलगाइदिन अनुरोध गरिएको छ । यस्तै मदिराजन्य पदार्थ बिक्री वितरण हुन नदिन तथा अन्य अवाञ्छित गतिविधि हुन नदिन विशेष सुरक्षा टोली परिचालन गर्नुका साथै ठाउँ ठाउँमा सिसी क्यामेरा जोड्ने काम गरिएको कोषको भनाई छ ।

कोषले बालाचतुर्दशी पर्वमा जथाभावी शतबीज नछर्न आग्रहसमेत गर्दै १३ बुँदे नियम बनाएको छ । नियमअनुसार ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न तथा बालबालिकाको साथमा परिचयपत्र राख्न आग्रह गरिएको छ । कोषले कैलाश चौरमा पाल राखी बत्ती बाल्न नपाइने तर शतबीज भने छर्न पाइने जनाएको छ । बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोरक्षेत्र, हंशमण्डप, चौरसहित वाग्मती नदीको खाली किनारामा व्यवस्था गरिएको जनाएको छ ।

बालाचतुर्दशी पर्वलाई लक्षित गरी पशुपति मन्दिरको वरपरका क्षेत्रमा माछा, मासु, जाड–रक्सी र अन्य नशालु लागू पदार्थ सेवन तथा बिक्री÷वितरणमा रोक लगाइएको समेत कोषले जानकारी दिएको छ । पशुपतिनाथमा लाग्ने बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै गौशाला मित्रपार्क सडकबाट पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथबाट उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीबाट दक्षिणभित्रका सबै भागमा यही मङ्सिर २७ गतेसम्म मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवनमा पूर्णरूपमा रोक लगाइएको हो ।

पशुपतिनाथमा मङ्सिर २४ र २५ गते लाग्ने बालाचतुर्दशी पर्वलाई सभ्य र भव्यताका साथ सफल पार्नका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा पशुपति क्षेत्र विकास कोषका सम्पूर्ण जनशक्ति खटिएका छन ।