नुवाकोट, मंसिर २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेलको सेयर खरिदबिक्री प्रकरणमा ठूलो आर्थिक अपराध भइरहेको निश्कर्ष सुनाउनु भएको छ ।
नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभन्जाङ्ग स्थलगत यात्राका क्रममा नुवाकोट आइपुग्नुभएका एमाले अध्यक्ष ओलीले देशलाई कंगाल बनाएर ढुकुटी भर्ने कमिशनको खेल बन्द गर्न गठबन्धन सरकारलाई सार्वजनिक आग्रह पनि गर्नुभयो । ओलीले एनसेल प्रकरणमा खर्बौंंको चलखेल भएको पनि बताउनु भयो ।
आगामी सन् २०२७ मा नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने कम्पनीले छल्न अर्कालाई बेचेको नाटक गरिएको ओलीले बताउनु भयो ।पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले आर्थिक अपराधको यो खेल नेकपा एमाले र नेपाली जनतालाई मान्य नहुने पनि प्रष्ट पार्नुभयो ।
अन्तरक्रियाको क्रममा अध्यक्ष ओलीले ओलीले विदेशी पर्यटक नेपाल ल्याउन रेल र सुरुङमार्ग आवश्यक रहेको बताए। उनले नेपालको परराष्ट्र नीति असंलग्न रहेको हुँदा कोही शत्रु नरहेको बताउनु भयो । नेपाल र नेपालीको हितमाभन्दा अहिलेको सरकार आफ्नै हितमा केन्द्रीत रहेको भन्दै ओलीले कडा आलोचना गर्नुभयो । उहाँले भन्नुभयो, ’अर्बौं–खर्बौंको खेलमा देशलाई समस्या पारिदैछ, युवा शक्ति पलायन छन्,चिन्ता कस्ले गर्ने ?,’
उहाँले मध्यपहाडी लोकमार्ग स्तरोन्नति गर्ने विषयमा एमालेको गम्भीर ध्यान गएको पनि बताउनु भयो । हरेक क्षेत्रको विकास र विस्तार तीव्र गतिमा हुनुपर्नेमा अहिलेको सरकार कानमा तेल हालेर बसेको भन्दै उहाँले अब समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले एमालेलाई सरकारबाट हटाएपछि देशको अर्थतन्त्र जटिल अवस्थामा पुगेको निश्कर्ष पनि सुनाउनु भयो ।
अध्यक्ष ओलीले देश विकास र परिवर्तनका लागि बैंकहरुले एकतर्फी रुपमा ब्याज बढाउन नमिल्ने भन्दै नागरिकप्रति उत्तरदायी बन्न सुझाव दिनुभयो । बैंकले व्याज एकतर्फी बढाउने नीति परिवर्तन जरुरी रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्