जनता टाइम्स

३१ भाद्र २०७६, मंगलवार १५:४६

बायुसेवा निगमको चिनियाँ जाहाज बेच्न संसदीय समितिको निर्देशन, यस्तो छ कारण


काठमाडौं, भदौं ३१ । संसदीय समितिले नेपाल बायुसेवा निगगमको दुई ओटा चिनियाँ बिमान बेच्न दिर्नेशन दिएको छ । नाफा कमाउन नसकेको कारण देखाई प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले निगमका दुई चिनियाँँ जहाज बेच्न निर्देशन दिएको हो । समितिले ५८ सिट क्षमताका मोर्डन आर्क (एमए) ६० नामका दुई जहाज बिक्री गरेर भविष्यमा हुनसक्ने थप घाटा कम गर्न सरकारलाई निर्देशन दिएको छ ।

दुवै जहाज निगमले ६ वर्षअगाडि भित्र्याएको थियो । समितिले एमए ६० जहाज छानबिनका क्रममा यसको उडान सञ्चालन निरन्तर घाटामा रहेको तथ्य फेला पारेको थियो । चिनियाँँ पक्षले आवश्यक सहयोग नगरेका कारण ती दुई जहाज बेच्नु उपयुक्त हुने निष्कर्षसहितको निर्देशन समितिले सरकारलाई दिएको हो । समितिले १८ सिट क्षमताका वाई १२ ई नामका चारवटा जहाजका सम्बन्धमा भने कूटनीतिक प्रयासबाट समस्या समाधान गराउन सरकारलाई सुझाएको छ । निर्माता कम्पनीसँग आवश्यक उडानका पार्टपुर्जा समयमा नै उपलब्ध गराउन पहल गर्नेसहितको निर्देशन समितिले सरकारलाई दिएको छ ।

निगमले आर्थिक बर्ष ०७३/७४ मा चिनियाँँ जहाज उडाएर १९ करोड ११ लाख रुपैयाँ कमाएको थियो । समितिले छानविनको क्रममा यी जहाज उडाउन ५३ करोड ७ लाख रुपैयाँ खर्च भएको तथ्य फेला पारेको छ । निगमलाई चिनियाँँ जहाज उडाउँदा वार्षिक ३३ करोड ९६ लाख रुपैयाँ घाटा भएको तथ्यांकमा उल्लेख छ । आव ०७४/७५ मा पनि चिनियाँँ जहाज उडानबाट २३ करोड १५ लाख रुपैयाँ आम्दानी गरे पनि यसको कुल खर्च ८० करोड ७७ लाख रुपैयाँ भएको छ ।

यसबाट निगमलाई उक्त आवमा ५७ करोड ६१ लाख रुपैयाँ घाटा पुगेको निगमले संसदीय समितिलाई उपलब्ध गराएको वित्तीय विवरणमा उल्लेख छ । निगमलाई चिनियाँँ जहाज भित्रिएको पहिलो दुई आर्थिक वर्षमै ९१ करोड ५७ लाख रुपैयाँ घाटा पुगेको थियो । समितिले गत साता सार्वजनिक गरेको ‘नेपाल वायुसेवा निगमको जहाज खरिद सम्बन्धी अध्ययन प्रतिवेदन, २०७६’ अनुसार चिनियाँँ जहाज सञ्चालनबाट निगम सुरुदेखि नै घाटामा रहेको पाइएको छ ।

निगमले चिनियाँँ अनुदान तथा सहुलियत दरमा खरिद गरेका ती जहाज उडानमा कुनै व्यवस्थित योजना बनाउन नसकेकाले घाटामा गएको हो । ती विमान पहाडी क्षेत्रमा छोटो उडान तथा अवतरण (स्टल) प्रकृतिको विमानस्थलमा उडाउन उपयुक्त भनेर भित्र्याइएको थियो । निगमले भित्र्याएको वाई १२ सहितका चिनियाँँ जहाजको समस्या समाधान गरेर सञ्चालन गर्ने हो भने चीन सरकार र सम्बन्धित एक्सपोर्ट–इम्पोर्ट बैंक अफ चाइनासँग तुरुन्त आवश्यक पहल गर्नुपर्ने सुझाव पनि समितिले दिएको छ ।

निगमलाई यी जहाजको किस्ता तिर्न सात वर्षसम्म छुट अवधि दिएको छ । त्यसपछि २० वर्षसम्म किस्ता तिर्ने सर्त उल्लेख छ । निगमले तीन वाई १२ र एक एम ६० जहाज सहुलियत ब्याजदरमा खरिद गरेको थियो भने एक एमए ६० र एक वाई १२ अनुदानमा पाएको हो । खरिद गरिएका यस्ता जहाजको आगामी २०७७ कात्तिकदेखि किस्ता तिर्नुपर्ने सर्त छ । तर, चिनियाँँ जहाज उडान सुर गरेको सात वर्षसम्म पनि निगमले यी जहाजबाट निरन्तर घाटा खाँदै आएको छ ।

निगमले एक एमए ६० र तीन वाई वाईका जहाज २१ करोड ८७ लाख ९५ हजार ८५० आरएमबीमा खरिद गरेको हो । यी जहाजको आगामी २०७७ कात्तिकम सान्तमा पहिलो अर्थवार्षिक किस्ता ८४ लाख १५ हजार २२५ आरएमबी बुझाउनु पर्छ । यस्तो किस्ता २०९० वैशाखसम्म बुझाउने सर्त सम्झौतामा राखिएको छ ।