जनता टाइम्स

२५ मंसिर २०८०, सोमबार १६:३९

मान्छेको पेट भित्र जीवितै झिँगा भेटिएपछि . . .


वाशिङटन डीसी, २५ मंसिर । अमेरिकामा एक जना बिरामीको पेटमा जिउँदो झिँगा भेटिएको छ । मिजोरी राज्यका डाक्टरहरुले क्यान्सकार एक जना बिरामीको नियमित कोलोनोस्कोपीका क्रममा ठूलो आन्द्रामा जिउँदो झिँगा भेटेका हुन् ।

आन्द्रामा झिँगा भेटिएका व्यक्ति ६३ वर्षका पुरुष थिए । यस घटनाबारे अमेरिकन जर्नल अफ ग्यास्ट्रोएन्टेरोलोजीमा हालै समाचार पनि छापिएको थियो । आन्द्राको क्यान्सरको स्क्रिनिङ गर्न ती पुरुष अस्पताल गएका थिए । कोलोनोस्कोपी गने क्रममा ती वृद्धको आन्द्रामा झिँगा आरामले सुतिरहेको जस्तो देखिएको थियो । झिँगा ग्याष्ट्रिक एसिडबाट कसरी बच्यो भनेर डाक्टरहरु अचम्भित छन् ।

कहिलेकाँही फल वा तरकारीमा रहेको झिँगाको लार्भा खाना खाँदा पेटभित्र पुगेर लार्भाले अन्डा पार्न सक्छ । तर ती बिरामीको आन्द्राभित्र कसरी गयो भन्ने पनि अज्ञात छ । वृद्धले कोलोनोस्कोपी गर्ने अघिल्लो दिन सादा तरल मात्रै खाएका थिए ।

कोलोनोस्कोपी गर्नु २४ घण्टाअघि भने उनले पिज्जा र लेटस खाएका थिए । खानेकुरामा झिँगा वा अरु केही चिज देखेको वृद्धलाई याद छैन । कोलोस्कोपीका क्रममा डाक्टरहरुले झिँगालाई घोचेका थिए । तर झिँगा हल्लिएन । तर भिडियोमा यो जिउँदै देखिएको बताइएको छ ।