जनता टाइम्स

३१ भाद्र २०७६, मंगलवार १७:२६

पर्यटनमन्त्रीको निर्देशनपछि भिआइपी पासमा कडाई : छ जनाबाहेक सबैलाई सुरक्षा जाँच अनिवार्य


काठमाडौं, भदौ ३१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिआइपीको नाम दुरुपयोग गर्दै लिइने पास अब नदिने घोषणा गरेको छ । सामान्य भिआइपी आएको समयमा विमानस्थलको भन्सार एक्सरे नै सञ्चालन नहुने भएपछि त्यसरी पास लिएर जाने आउने प्रवृत्ति बढेको थियो ।

नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीले कसैले फोन गरेकै भरमा कसैलाई पनि भिआइपीको गेट प्रयोग गर्न नदिने घोषणा गर्नुभयो । सोमबार विमानस्थल कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीले राजपत्रमा प्रकाशित सूचीमा उल्लेख भएका बाहेक अरुलाई पास नदिने प्रष्ट पार्नुभयो ।

कानूनअनुसार देशका छ जना र तिनका समकक्षी बाहेक अरु सबैलाई सुरक्षा जाँच भने हुने छ । केही समयअघि पर्यटनमन्त्री योगेश भट्टराईले विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ गर्न निर्देशन दिदै कानुन अनुसारका ६ जना विशिष्ठ व्यक्ति बाहेक अन्यलाई गाडी विमानसम्म लैजानपनि रोक लगाएका थिए । पछिल्लो समय विमानस्थल कार्यालय र भन्सारको समुन्वय नहुँदा कतिपय भिआइपीका ह्यान्डब्यागहरु बिना स्क्रिनिङ छिर्ने गरेको आरोप लाग्दै आएको थियो ।