काठमाडौं, २९ मंसिर । धनुषामा बालिकाको शव फेला परेको घटनामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव फेला परेपछि प्रहरीले अनुसन्धानका लागि दुईजना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो २४ घन्टादेखि हराइरहेकी बालिकाको शव सतोखर पोखरी नजिकै पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो। शव शङ्कास्पद रहेकाले पोष्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पताल पठाइएको अवाले बताउनुभयो ।
बिहीबार बेलुका ७ बजे उनको शव फेला परेको र शवको प्रकृतिले घटना शंकास्पद देखिएको हुँदा अनुसन्धानका लागि दुईजनालार्ई नियन्त्रणमा लिएर सोधपुट सुरु गरिएको प्रवक्ता अवाले बताउनुभयो।उहाँले पक्राउ पर्नेमा हँसपुर नगरपालिका सोनिगमाका र हाल ससुराली सबैला बस्दै आएका बिनोद राय र अर्का एकजनाको परिचय खुल्न बाँकी रहेको बताउनुभयो। स्थानीयका अनुसार गत बुधवार बालिकाको छिमेकीमा एकजनाको विवाहको मटकोर कार्यक्रम थियो। मटकोरमा पोखरीबाट माटो निकाल्न रथमा चढेर बालिका पनि गएकी थिइन्।
सोही क्रममा गाउँका केही युवाहरुले ती बालिकालाई फकाइफुलाई सँगै लगेर बलात्कार गरेको एकजना स्थानीयले बताए।ती स्थानीयका अनुसार बलात्कार पछि बालिकाको शव पानीको खाल्डोमा छाडेका थिए।













प्रतिक्रिया दिनुहोस्