जनता टाइम्स

१ आश्विन २०७६, बुधबार ११:००

खाद्य संस्थानले ३ हजार खसीबोका र च्याङग्रा ल्याउदै


काठमाडौं, असोज १

नेपाल खाद्य संस्थानले यो वर्षको दशैँका लागि ३ हजार खसीबोका र च्याङग्रा ल्याउने भएको छ । विगतमा भन्दा यसपटक दोब्बर ल्याउन लागेको हो । भारतबाट खसीबोका आयातमा कडाई भएपछि सस्थानले बढि ल्याउन लागेको हो ।

एक हजार खसीबोका र २ हजार च्याङग्रा गरी ३ हजार खसीबोका र च्याङग्रा ल्याउन लागिएको संस्थानका अर्थ तथा आर्थिक विभागका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिनुभयो । यसअघिको दशैमा भने खसीबोका र च्याङग्रा गरी १२, १३ सयको हाराहारीमा ल्याएको थियो ।

यो वर्ष दाङ र हेटौँडाबाट खसीबोका र मुस्ताङबाट च्याङग्रा ल्याउने तयारी भैरहेको उहाँले बताउनुभयो । दशैँको बेला काठमाण्डौमा ५० देखि ६० हजार खसीबोका र च्याङग्राको माग हुने गरेको छ । संस्थानले घटस्थापनाको भोलिपल्टदेखि खसिबोका र च्याङग्राको बिक्रि शुरु गर्ने भएको छ ।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, कृषि कार्यालयका प्रतिनिधि, खाद्य संस्थानका प्रतिनिधि र किसान बसेर मूल्य निर्धारण गरेर खसीबोकाको मूल्य तोक्ने र बिक्री गर्दा उपत्यकामा चलेको बजार मूल्य भन्दा किलोमा १० रुपैयाँ सस्तो दिने तयारी भएको पनि खनालले बताउनुभयो । किनेर ल्याइएको खसीबोका र च्याङग्रालाई थापाथलीमा रहेको संस्थानको कार्यालयमा राखिने र त्यहीँबाट बिक्री गरिने उहाँको भनाइ छ ।