जनता टाइम्स

५ पुष २०८०, बिहीबार १७:३४

स्वास्थ्य बीमा गरेका नागरिकले जुनसुकै अस्पतालबाट सेवा लिन पाउनुपर्छ : स्वास्थ्यमन्त्री


काठमाडौं, पुस ५ । स्वास्थ्य मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा गरेकाले जुनसुकै अस्पतालबाट स्वास्थ्य सेवा लिन पाउने गरी व्यवस्था गर्नुपर्नेमा बताउनु भएको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यान्वयन कार्ययोजना हस्तान्तरण कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य बीमा गरेका प्रत्येक नेपालीले देशभरिका तोकिएका जुनसुकै अस्पतालबाट स्वास्थ्य सेवा लिन पाउनेगरी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

कर्मचारी निष्पक्ष नहुँदा बीमाप्रतिको आशंका बढेका भन्दै मन्त्री बस्नेतले अहिले बीमा बोर्डले सुधारका योजना सुरु गरेको बताउनु भयो । कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य वित्त रणनीति कार्यान्वयनमा सबै एकजुट हुन आह्वान गर्नुभयो । उहाँले आफू मन्त्रालयमा आएपछि स्वास्थ्य क्षेत्रको सुधारको प्रयास गरेको भन्दै यसमा सबैको साथ आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्री बस्नेतलाई आधारभूत स्वास्थ्य सेवा अनुगमन दिग्दर्शन, राष्ट्रिय स्वास्थ्य वित्त रणनीति तथा स्वास्थ्य बीमा रणनीतिक मार्गचित्र हस्तान्तरण गर्नुभएको थियो ।