भरतपुर, ९ पुस । चितवनको कालिका नगरपालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिकाका लागि दिवा खाजा खुवाउन थालिएको छ । नगरपालिकाको निर्देशनमा विद्यालयले बालबालिकालाई डेढ महिनापछि खाजा दिन थालेको छ । शिक्षक रामलाल चेपाङले बालबालिकाका लागि दिवा खाजा नियमित दिन थालिएको बताउनुभयो ।
‘खाजा पाएपछि बालबालिका पनि खुसी भएका छन्, विद्यालय आउन छाडेकाहरु पनि आउन थालेका छन्’, उहाँले भन्नुभयो । खाजा पाएपछि बालबालिकाले पढाइमा पनि रुचि राख्ने गरेको शिक्षक चेपाङले बताउनुभयो । यस विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययनरत छन् । विद्यालयमा एक जना शिक्षकको व्यवस्था छ ।
उहाँले तीनवटै कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने गर्नुभएको छ । राष्ट्रिय आधारभूत विद्यालयको कक्षा ३ मा पढ्ने उर्मिला चेपाङ खाजा खान पाएको भन्दै खुसी हुनुभयो । उहाँले भन्नुभयो,‘खाजा पनि खान पायौँ र नयाँ न्यानो कपडा पनि लगाउन पायौँ ।’ समाचार पढेपछि बालबालिकाका लागि न्यानो कपडा सिन्धुपाल्चोकका युवाले उपलब्ध गराएका हुन् ।
सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीका युवा सुनील श्रेष्ठ, सुशील श्रेष्ठ, अनिल श्रेष्ठ, समुन्द्र श्रेष्ठ र रोचन श्रेष्ठले आइतबार ३५ जना बालबालिकाका लागि न्यानो कपडा सुइटर र चप्पल वितरण गर्नुभयो । आवश्यक परेको खण्डमा विद्यालयलाई फेरि सहयोग गर्न तयार रहेको भन्दै श्रेष्ठले बालबालिकाले सहजरुपमा पढ्न पाउने अधिकारको सुनिश्चितता हुनुपर्ने बताउनुभयो ।
चेपाङ जातिको शैक्षिक विकासमा योगदान दिँदै आएका केपीकिरण शर्माले चेपाङ बालबालिका अध्ययनरत धेरै विद्यालयको अवस्था नाजुक रहेको भन्दै राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले चेपाङ बालबालिकालाई गाँस, बास र कपाससहितको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालय नान्दरमा रहेको आधारभूत विद्यालयको शाखा हो । दूरीका कारण बालबालिकालाई विद्यालय पुग्नै कठिन भएपछि कालिका–१० नान्दरस्थित राष्ट्रिय आधारभूत विद्यालयलाई दुई ठाउँमा विभाजन गरेर कक्षा सञ्चालन गर्दा विद्यार्थी र शिक्षक पनि बाँडिएका हुन् । विसं २०७० देखि सञ्चालनमा आएको जिङ्लाउमा मात्रै ३५ विद्यार्थी अध्ययन गरिरहेका छन् ।













प्रतिक्रिया दिनुहोस्