जनता टाइम्स

११ पुष २०८०, बुधबार १५:४३

१ करोड २५ लाख घुस लिएको आरोपमा कार्यकक्षबाटै समातिए कुस्माका प्रमुख कार्यकारी अधिकृत


पर्वत, पुस ११ । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिस्ट्रार उदयबहादुर पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले आज कुस्मास्थित कार्यकक्षबाटै पराजुलीलाई पक्राउ गरेको हो । मित्र मिलन सहकारी पोखराका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।

पूर्वरजिस्ट्रार पराजुली अहिले पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन । उहाँलाई कार्यकक्षबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयो ।

गत कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिनुभएको थियो । स्याङ्जाको आँधिखोला गाउँपालिका नै घर रहेका अध्यक्ष पौडेलले आफ्नै पालिकामासमेत कार्यक्षेत्र विस्तार गरेर सहकारीमा रकम भित्र्याउन चाहेको प्रहरीको भनाई छ । तर, पराजुलीले फाइल अड्काइदिएपछि १ करोड २५ लाख रुपैयाँ घुस दिएर मिलाइएको बयान दिएको प्रहरीले जनाएको छ ।

मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । अब तत्कालीन रजिस्ट्रार पराजुली र राष्ट्रिय सहकारी बैंक लिमिटेडका घिमिरेसहित ३२ जना पुगेका छन । त्यसमध्ये अध्यक्ष पौडेल र प्रबन्धक अधिकारी बैंकिङ कसुरमा प्रक्राउ परेका थिए ।