जनता टाइम्स

२ आश्विन २०७६, बिहीबार ०९:४०

नेकपाको सचिवालय बैठक स्थगित, यस्तो छ कारण


काठमाडौं, असोज २ । आज बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । पार्टी एकतालाई पुर्णता दिने योजनाका साथ प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजेका लागि बोलाइएको सचिवालय बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो ।

‘समय अभावको कारण स्थगित भएको छ, प्रधानमन्त्रीले आज संसदमा पनि सम्बोधन गर्ने कार्यक्रम रहेकोले त्यसैको तयारीमा लाग्नुपर्ने भयो,’ नेकपाका एक नेताले जनताटाइम्ससँग भन्नुभयो । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले पनि संसदमा सम्बोधन आजै रहेकोले तयारीका लागि बैठक स्थगित भएको बताउनु भयो ।

नेकपामा अझै जेष्ठ कम्युनिस्ट मञ्च, आयोग, प्रवास कमिटीलगायतका काम बाँकी रहेको छ । यस्तै केन्द्रीय बिभागलाई पुर्णता दिने र जनसंगठनले माग गरेअनुसारको केन्द्रीय समितिको आकार बढाउने एजेण्डा बाँकी रहेको छ ।