जनता टाइम्स

१२ पुष २०८०, बिहीबार १४:४२

गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट


काठमाडौं, १२ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आज अधिवक्ताहरु दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले गभर्नर अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको हो ।

सर्वोच्च अदालतले उक्त रिटको पेसी शुक्रबारका लागि तोकेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर हुनुपर्नेमा गर्भनर अधिकारीको योग्यता सोअनुसार नभएकाले नियुक्ति बदरको माग रिट निवेदनमा गरिएको छ ।

रिटमा निवेदकहरुले गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउण्टेण्ट मात्र रहेको दाबी गरेका छन् । सो योग्यता स्नातकोत्तर वा सो सरह नभएको उनीहरुले जिकीर गरेका छन् । २०७६ चैत २४ मा अधिकारी गभर्नर नियुक्त भएका थिए ।