विराटनगर, असोज २
जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर प्रालिले बुधबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बुधबार यहाँ आयोजित कार्यक्रममा सेन्टर सेवाको औपचारिक सुरुवात गर्नुभयो । विराटनगर–९ स्थित रु पाँच करोडको लागतमा सञ्चालन भएको सो सेन्टर १५ श्ययाको छ ।
निजी क्षेत्रबाट सञ्चालित सो सेन्टरमा सघन उपचार कक्ष, एन सघन उपचार कक्ष पिआइसीयु, भन्टिलेटरलगायतका अन्य ल्याब सम्बन्धीसेवा उपलब्ध गराएको सञ्चालक जयप्रकाश रायले बताउनुभयो । सेन्टरले उच्चरक्तचाप, डाइबिटिजका बिरामीलाई दैनिक निःशुल्क सेवा उपलब्ध गराउने भएको छ । अस्पतालमा १२ जना विशेषज्ञ चिकित्सकसहित ३० जना कर्मचारी कार्यरत रहेका छन् ।
असहाय, गरीबीका रेखामुनी रहेका बिरामीलाई सम्बन्धित निकायको सिफारिशमा सम्पूर्ण उपचारलगायत औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको सञ्चालक रायले जानकारी दिनुभयो । सो अवसरमा मन्त्री घिमिरेले विराटनगरलाई ‘स्वास्थ्य पर्यटन केन्द्र बनाउनमा यसले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । आगामी १५ दिनसम्म सेन्टरका सम्पूर्ण उपचार सेवामा बिरामीलाई ५० प्रतिशत छुट उपलव्ध गराएको छ ।
प्रतिक्रिया दिनुहोस्