काठमाडौं, १७ पुस । नेपाल एयरलाइन्स (नेवानि) का वरिष्ठ पाइलट दीपु ज्वार्चनले न्यारोबडी जहाज ए३२० मोडलको जहाजका लागि ‘डेजिगनेटेड चेक पाइलट (डीसीपी)’को लाइसेन्स पाउन सफल हुनुभएको छ ।
नेपालमा दर्ता भएका वायुसेवा कम्पनीमा कार्यरत पाइलटहरु मध्ये यस्तो लाइसेन्स पाउने उहाँ पहिलो पाइलट समेत बन्न सफल हुनुभएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।
अहिले नेपालमा नेपाल एयरलाइन्स र हिमालय एयरसँग एअरबस ३२० जहाज छन् । हिमालयमा विदेशी परीक्षक पाइलट कार्यरत छन् ।
नेपाली नागरिकका रुपमा भने ज्वार्चनले यस्तो लाइसेन्स पाउन सफल हुनुभएको हो । उहाँलाई प्राधिकरणले मंगलबार यसका लागि योग्य घोषित गरेको भुलले जानकारी दिनुभयो ।
‘यसका धेरै प्रक्रिया हुन्छन्, उहाँले ती प्रक्रिया पार गर्दै आफूलाई डीसीपीका लागि योग्य बनाउनु भयो,’ भुलले भन्नुभयो । यससँगै अब ज्वार्चनले प्राधिकरणले लिने ए३२० का पाइलटहरुको परीक्षा लिन र त्यसको जाँच गर्न पाउनुहुनेछ ।
ज्वार्चन प्रशिक्षक पाइलट समेत हुन् । प्रशिक्षक पाइलटको भूमिका तालिम दिनेसम्म हुन्छ । परीक्षा लिन र त्यसको परिक्षणको काम गर्न डीसीपी नै हुनुपर्ने थियो । नेपालमा डीसीपी नहुँदा विदेशी परीक्षक पाइलटबाट यस्तो काम गराउनु पर्ने थियो । यो काम अब नेपाली पाइलटबाटै सम्भव भएको हो ।
प्रतिक्रिया दिनुहोस्