जनता टाइम्स

१८ पुष २०८०, बुधबार १७:४९

माघ १ देखि काठमाडौंवासीको धारामा मेलम्चीको पानी


काठमाडौं, पुस १८ । आगामी माघ १ गतेदेखि काठमाडौंवासीले मेलम्चीको पानी पाउने भएका छन । साढे छ महिनादेखि रोकिएको मेलम्चीको पानी माघ १ गतेसम्ममा उपभोक्ताको धारा खसाल्ने तयारी अघि बढेको हो ।

खानेपानी मन्त्रालयले बाढी पहिरोका कारण क्षति भएको सिन्धुपाल्चोकस्थित हेलम्बु मुहानमा थुप्रेको गेग्रान पन्छाएर पानी सुरुङमा पठाउन रातदिन काम भइरहेको जनाएको छ । मन्त्रालयका सचिव सुरेश आचार्यले आयोजानाको क्षतिग्रस्त मुहानमा भइरहेको गेग्रान हटाउने कामको बुधबार निरीक्षण गरेपछि अबको १३ दिनपछि अर्थात माघे संक्रान्तिको दिन पानी उपभोक्ताको धारामा खसाल्ने बताउनु भयो ।

आयोजना स्थलमा उहाँले पानी छिटोभन्दा छिटो काठमाडौं पठाउन तीब्र गतिमा काम गर्न निर्देशन दिनुभयो । गत साउनमा आएको बाढीले हेडवक्स क्षतिग्रस्त भएपछि चिनियाँ ठेकेदार कम्पनीले गेग्रान हटाउने काम गरिरहेको छ । सिनोलाई २८ दिनमा काम पूरा गर्ने लक्ष्य तोकेर गत ५ गते सम्झौता गरिएको थियो । सचिव अर्यालले सम्झौताभन्दा केही दिन अघि नै काम सक्नेगरी अघि बढेको बताउनु भयो ।

आयोजनाको हेडवक्स निरीक्षण गरेपछि सचिव आचार्यले ठुला मेशिन लगाएर गर्ने काम धेरै सकिएको बताउनु भयो । उहाँले अस्थायी रुपमा बनाएको सुरुङमा मसिनो बालुवा र माटो छिरेर समस्या बनाएको बताउनु भयो । दैनिक ५१ करोड लिटर पानी काठमाडौं खसाल्ने योजनाअनुसार २७ किमि सुरुङबाट पानी सुन्दरीजल स्थित प्रशोधन केन्द्रमा ल्याएर वितरण गर्ने संरचना बनाइएको छ ।

गत साउनको अन्तिम साता आएको बाढीले हेडवक्सको संरचनालाई १५–२० फिट अग्लो गेग्रानले पुरेको थियो । अहिले उक्त गेग्रान हटाएर अर्डिट सुरुङमा पसेको ढुंगा, गिटी र बालुवा झिक्ने काम भइरहेको छ । २०७८ असारमा आएको अकल्पिनीय बाढीले मुहान क्षेत्रलाई तहसनहस बनाएपछि पानी काठमाडौं ल्याउन कठिन भइरहेको छ ।

वर्षातको बाढीले नोक्सान हुने भयले गत असारको पहिलो साता नै सुरुङको मुख बन्द गरिएको थियो । मुख बन्द गरेका कारण साउनमा आएको बाढीले मुख्य सुरुङ नोक्सान भएको छैन । तर दुई वर्षअघि जस्तै गेग्रानले हेडवक्सको संरचना पुरिएको थियो । उक्त गेग्रान हटाउने काम गर्न सरकारी प्रक्रियामा ढिलाई भएका कारण लामो समयदेखि पानी बन्द छ ।

२०७७ साल चैतमा पहिलो पटक मेलम्चीको पानी काठमाडौं खसालिएको थियो । तर बाढीपहिरोको कारण पानी वितवरणले निरन्तर पाउन सकेको छैन । सुरुङ निर्माण सुरु भएको २२ वर्षपछि काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाएका थिए । तर काठमाडौंको पानी वितरण संरचनासहित झण्डै ६५ अर्ब भन्दा बढी खर्च भइसकेको छ ।