काठमाडौं, पुस १९ । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुवै देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्ने पूर्वसहमति अनुसार दुई देशबीच आज सहमतिपत्रमा हस्ताक्षर भएको हो । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गर्नुभएको छ ।
चितवनमा बस्ने ११औं नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति बैठकले यसलाई अन्तिमरूप दिने सहमति पनि भएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन भारतीय विदेश मन्त्री एस.जयशंकरको टोली आज बिहान काठमाडौं आइपुगेको छ । संयुक्त निर्देशक समितिको बैठक हरेक ६ महिनामा बस्ने गर्छ ।
गत जेठको अन्तिम साता नै दीर्घकालीन पीपीएका लागि नेपाल–भारतबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसपछि भदौमा दीर्घकालीन पीपीएको भारतको मन्त्रिपरिषद्बाट पनि अनुमोदन भइसकेको छ । गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा सो सहमति भएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गर्नुभएको थियो । प्रधानमन्त्री दाहालको भारत भ्रमण लगत्तै नेपालले दीर्घकालीन पीपीएको मस्यौदा भारतलाई पठाएको थियो ।













प्रतिक्रिया दिनुहोस्