जनता टाइम्स

२१ पुष २०८०, शनिबार १५:०९

कतारवासी नेपालीका लागि बिशेष बन्यो प्रवासी नेपाली मञ्चको स्थापना दिवस


खेमराज सुवेदी/कतार । प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारले आफ्नो १९औँ स्थापना दिवस बिशेष कार्यक्रम आयोजना गरी मनाएको छ । मञ्चले नेकपा एमालेका सचिज तथा पूर्वमन्त्री गोकर्ण बिष्टलाई प्रमुख अतिथी बनाएर शुक्रवार सनैयास्थित फूलवारी रेस्टुरेन्टको सभाहलमा भव्य रुपमा मनाएको हो ।

मञ्चको स्थापना दिवसको बिशेष कार्यक्रममा सहभागी हुन एमाले सचिव बिष्ट केही दिनअघि कतार आइपुग्नु भएको थियो । पूर्वश्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्री तथा वर्तमान सङ्घीय सांसद, लोकप्रिय युवानेता तथा नेकपा एमाले का केन्द्रिय सचिव माननीय गोकर्ण विष्टलाई प्रमुख अतिथि बनाइएको कार्यक्रममा कतारस्थित नेपाली श्रमिक तथा व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै एमाले सचिव विष्टले मध्य पूर्वमा रहेका नेपाली श्रमिकका परिवारको शिक्षा, स्वास्थ्य तथा रोजगारको व्यवस्था गराउनको निम्ति संसद तथा देशको सम्बन्धित निकायमा आफ्नो कुरा राख्नु पर्ने सुझाव दिनुभयो ।

‘तपाईंले यति गर्न सक्नुभयो भने तपाईंलाई प्रवासी नेपाली श्रमिकले कालान्तर सम्म भुल्ने छैनन,’ सचिव बिष्टले भन्नुभयो । उपसचिव पोखरेलले मध्य पूर्वको आवाज शसक्त रूपमा उठाउन पुर्व मन्त्री विष्टलाई आग्रह गर्दै कार्यक्रमको उदेश्य अनुरूप बोल्न वक्ताहरूलाई सुझाएपछि उहाँले यस्तो बताउनु भएको हो ।

सचिव बिष्टले प्रतिनिधित्व मुलक संस्थाको रूपमा कतारमा रहेका विभिन्न संघ सस्थामा काम गरेका साथिहरू यसरी एउटै मञ्चमा देख्दा आफूलाई खुशी लागेको बताउनु भयो ।

मन्तव्यको क्रममा प्राप्त भएका सबै सुझाव, सल्लाहहरू तथा यहाँका नेपाली श्रमिकहरूले भोगेका समस्यालाई नजिकबाट आफूले नजिकबाट नियालिरहेको र फर्किदा एउटा असल भरीया बनेर बोकेर लैजाने तथा सरकार अनि संसदको ढोका ढकढकाउदै सबै समस्या समाधानार्थ पहल गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ । श्रमिकहरूका समस्याका सम्बन्धमा ‘यो विचार, त्यो विचार वा यो सरकार त्यो सरकार नगरी प्रभाकारी ढङ्गले सबैले डटेर मुद्दा उठाउन जरुरत रहेको’ बिष्टको भनाई छ ।

‘अहिलेसम्म संसारका १४० भन्दा बढी देशमा श्रम गर्न नेपालीहरू पुगेकाछ्न । देशमा रोजगार पाएको भए गाउँबाट, देशबाट टाढा जान कसैलाई रहर हुन्थ्यो र ?’ बिष्टले भन्नुभयो, ‘७४–७६ मा २ लाख ७६ हजार युवाहरू विदेशिए अहिले २०८० मा लगभग ९ लाख युवा वैदेशिक रोजगारिमा जान वाध्य भएका छन, सन् २०२२ मा कतारबाट मात्रै १ खर्व पैसा रेमिट्यान्स यहाँका नेपाली श्रमिकले पठाएका छन।’

उहाँले थप्नुभयो, ‘देशको समृद्धिको लागि सारा नेपालीले चिन्ता जाहेर गर्नु स्वभाविक हो, हिजोका दिनमा कहाँ कमी कमजोरी भए आउँदा दिनमा परिणामा कसरी निस्कन्छ, विकास, समृद्धि कसरी ल्याउन सकिन्छ भन्ने बारेमा सबै पार्टीले गम्भीर समिक्षा गर्नेबेला आएको छ, । देश धनी हुन सकेन भने त्यो देशका नागरिक अन्तराष्ट्रिय मन्चमा सम्मानित हुन सक्दैन, जब सम्म काम गरेर खाने श्रमिकको जीवन स्तर माथि उठ्न सक्दैन तब सम्म त्यो देश माथि उठ्न सक्दैन, त्यो देशले उन्नति प्रगति गर्न सक्दैन ।’

कार्यक्रममा प्रवासी नेपाली मञ्च कतारका पूर्वअध्यक्ष एवं अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चानक पोख्रेलले नेपाली श्रमिकका मुद्दा लिएर प्रवासी नेपाली मञ्चले विभिन्न ११ देशका दूतावासमा ज्ञापनपत्र बुझाएको स्मरण गर्नुभयो ।

‘यो मञ्चले विदेशमा रहेका नेपालीले स्वदेशमा भोटिङ गर्ने अधिकार पाउनु पर्छ भनेर ४२ देशमा ज्ञापनपत्र पनि बुझाएको छ,’ पोखरेलले भन्नुभयो, ‘हामीले यो संस्था स्थापना गरेर टुकुटुकु हिडाउँदै अहिलेको युवा अवस्थामा ल्याई पुर्याएर यो नित्रित्वलाई हस्तान्तरण गरेका हौँ ।’ पोख्रेलले प्रवासबाट श्रमिकहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रमा टेवा पुर्याउन आर्थिक सिपाही बनेर नेपाली श्रमिकले राज्यलाई सहयोग गरेपनि श्रमिकहरूलाई राज्य चलाउनेले अपहेलना गरेको गुनासो गर्नुभयो ।

ब्यानर अनावरण, दीप प्रज्वलन, सहिद हरूप्रती मौनधारण गर्दै अगाडि बढेको कार्यक्रममा मञ्चका उपाध्यक्ष बालकृष्ण भित्रीकोटीले स्वागत मन्तव्य राख्नुभएको थियो भने जनवादी कलाकारहरूले स्वागत गीत गाएका थिए ।

उक्त कार्यक्रममा विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै चुडामणि कार्की, किरण परियार, सरिता भण्डारी पौडेल, केबि हमाल, सागर नेपाल, गोपाल न्यौपाने, तेज मोक्तान तामाङ, कमल आचार्य, बुद्धि प्रसाद भन्डारी, नेअजिज अलि, कृष्ण पन्थी, होमनाथ शर्मा,राज रेग्मी तथा प्रवासी नेपाली मञ्च कतार संस्थापक अध्यक्ष कमल मणि गुराँगाई लगायतले शुभकामना मन्तव्य दिनुभयो ।

मन्चले १९ औँ वार्षिक उत्सवका अवसरमा प्रमुख अतिथी विष्टलाई दोसल्ला ओढाएर मायाँको चिनो प्रदान गर्दै सम्मानसमेत गरेको छ ।कार्यक्रममा कलाकारहरू शिवराम ढकाल, रेस्मी बिस्वकर्मा, मनिस कुमार गोस्वमि लगायतले देशप्रेम ले ओत प्रोत भएका भावनाका “राट्रियता साट्दैनौ हामी” , तथा जनवादी, मैथली अनि भोजपुरी लगायतका गीत समेत पस्किएका थिए ।

कार्यक्रमको अन्त्यमा प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कतार तथा कार्यक्रमका अध्यक्ष प्रभात त्रिपाठीले मञ्च कतारका संस्थापकहरूमा यो मञ्चलाई स्थापना गराएर यहाँ सम्म ल्याउन अथाह सहयोग गर्नु भएकोमा आभार प्रकट गर्नुभयो । यो सँस्था श्रमिकको सँस्था भएको हुँदा सधैँ श्रमिकका समस्याहरू निराकरण गर्नको निमित्त सङ्घर्षको मैदानमा रहने गरेको बताउँदै उहाँले थप्नुभयो, ‘हामीले सिद्धान्तको लागि जीवन होइन, जीवन को लागि यी सिद्धान्त बनेका हुन भन्ने बुझ्न जरुरी छ ।’ उक्त कार्यक्रमको सहजिकरण प्रवासी नेपाली मञ्च कतारका सचिव तथा संगठन विभाग प्रमुख बिनेश तामाङ्गले गर्नुभएको थियो ।