जनता टाइम्स

२२ पुष २०८०, आईतवार १९:२०

धितोपत्र बोर्डको अध्यक्ष हत्याउन आकांक्षीको दौडधुप, आफ्ना मान्छे बनाउन ब्यापारी पनि लबिङमा


काठमाडौं, पुस २२ । नेपाल धितोपत्र बोर्डको अध्यक्षबाट रमेशकुमार हमाल बाहिरिएसँगै नयाँ अध्यक्ष बन्नका लागि आकांक्षीहरुको दौडधूप तीब्र बनेको छ । हमाल २१ महिने कार्यकाल सकेर यही शुक्रबार बाहिरिनु भएको हो ।

तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सर्वोत्तम सिमेन्ट प्रकरणमा सरकारले बर्खास्त गरेपछि हमाल अध्यक्ष हुनुभएको थियो । हमाल सोही पदमा दोहोरिन चाहिरहनु भएको स्रोतको भनाई छ ।

धितोपत्र बोर्डमा २०७६ पुस २१ गते सरकारले ढुंगानालाई नियुक्त गरेको थियो । चार वर्षे कार्यकाल नसकिँदै ढुंगाना बर्खास्तगीमा परपछि हमाललाई नियुक्त हुनुभएको थियो । हमालले २०७८ फागुन ५ गते पदभार ग्रहण गर्नुभएको हो । हमाल बाहिरिएपछि बोर्डमा नयाँ अध्यक्ष बन्न आकांक्षीहरुले राजनीतिक र व्यावसायिक सक्रियता तीव्र पारेका हुन ।

अध्यक्ष बन्ने दौडमा बोर्डकै कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ, कार्यकारीहरु डा. नबराज अधिकारी र कृष्ण पोखरेल लबिङमा लाग्नुभएको छ । उहाँहरुबाहेक नेप्सेका पूर्वसीईओ चन्द्रसिंह साउद र तत्कालीन बीमा समिति (हाल बीमा प्राधिकरण)का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं पनि अध्यक्ष बन्ने लबिङमा लाग्नुभएको स्रोतले बताएको छ ।

बोर्डकै पूर्वकार्यकारी अधिकृत निरज गिरी, नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठ र चिन्तामणि शिवाकोटी पनि बोर्ड अध्यक्ष बन्ने अभियानमा लाग्नुभएको स्रोतले जनताटाइम्स डटकमलाई बतायो । यता आफू अनुकुल नेतृत्व ल्याउन ब्यवसायीहरु पनि भित्री रुपमा लबिङमा लागेको पाइएको छ । नयाँ स्टकको आवेदन दिनेमा हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्ज छन । उनीहरुले लाइसेन्स हात पार्न ठूलो मिहेनेत गरे पनि टुंगिएको छैन । अहिले ती तीनवटै समूह नयाँ स्टकको लाइसेन्स हात पार्न आफूअनुकूल अध्यक्ष बोर्डमा ल्याउन लागिरहेको स्रोतले बतायो ।

स्रोतका अनुसार हिमालयन स्टक एक्सचेञ्जका लागि आवेदन दिएको ब्यापारीको समूहले मुक्ति श्रेष्ठ, निरज गिरी र चिन्तामणि शिवाकोटीमध्ये एक जनालाई अध्यक्ष बनाउने योजना बनाएको छ । त्यसैगरी नेशनल स्टक एक्सचेञ्जको लाइसेन्सका लागि प्रयास गरिरहेको समूहले चिरञ्जीवी चापागाईं र डा. नबराज अधिकारीको नाम अघि सारेको छ । हिमालयन स्टक एक्सचेन्जको मुख्य लगानीकर्ताहरू शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट प्रमुख सेयरधनी हुनुहुन्छ ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरू शेखर गोल्छा, पशुपति मुरारका र भवानी राणा, परिसंघका पूर्वअध्यक्ष तथा लक्की ग्रुपका प्रमुख सतिश मोर, ज्योति ग्रुपका सौरभ ज्योति र नेपालका लागि मित्सुबिसी कम्पनीको आधिकारिक बिक्रेता आशिष श्रेष्ठ, शिवम सिमेन्टका सञ्चालक तथा साओमी मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता रोहित गुप्ता, मेरिएट होटलका सञ्चालक शशिकान्त अग्रवाललगायत लगानीकर्ता हुनुहुन्छ । उक्त कम्पनीमा विवेक दुगड र राजेन्द्र खेतानले पनि लगानी गर्नुभएको छ ।

यता नेसनल स्टक एक्सचेन्जका मुख्य लगानीकर्तामा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको लगानी रहेको छ ।

त्यसैगरी रविजंग लामिछाने पनि यसका सेयर लगानीकर्ता हुनुहुन्छ । यस्तै सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको पनि मुख्य लगानी रहेको छ । त्यसैगरी अन्नपूर्ण स्टक एक्सचेन्जका लगानीकर्ताहरूमा रामेश्वर थापा, गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेती रहनुभएको छ ।