जनता टाइम्स

२४ पुष २०८०, मंगलवार १०:०४

एनएमबी बैंक र एचआईडीसीएलले सम्झौंता गरैसँगै ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’ का लागि जुट्यो लगानी


काठमाडौं, पुस २४ । ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजनामा निर्माणका लागि लगानी जुटेको छ । आयोजनामा एनएमबी बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ७ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन ।

एनएमबी बैंकले ४ अर्ब ४० करोड रुपैयाँ र एचआईडीसीएलले ३ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन । आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एचआईडीसीएल सहभागी भएर संयुक्त रुपमा ऋण लगानी गर्ने भएका हुन । कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित यस आयोजना नेपाल विद्युत प्राधिकरणले सहायक कम्पनी मोदी जलविद्युत् कम्पनी लिमिटेडले अघि बढाएको छ । जसको कुल लागत १० अर्ब ५७ करोड रुपैयाँ अनुमान छ, त्यसको ७० प्रतिशतको अनुपातमा एनएमबी र एचआईडीसीएलले लगानी गर्ने भएका हुन् ।

यस सम्बन्धमा सोमबार कम्पनी, एनएमबी बैंक र एचआईडीसीएल बीच ऋण लगानी सम्झौता भएको छ । त्यसमा कम्पनीका प्रवन्ध सञ्चालक सुर्यप्रसाद पौडेल, एनएमबी बैंकका प्रमुख लगानी अधिकृत श्रीजेश घिमिरे र एचआईडीसीएलका डीजीएम अरुण रजोरियाले हस्ताक्षर गर्नुभयो । बाँकी ३० प्रतिशत भने नेपाल विद्युत् प्राधिकरण र सर्वसाधारणबाट इक्विटीको रुपमा उठाइनेछ ।

लगानी जुट्ने पक्का भएसँगै कम्पनीले आगामी आवदेखि आयोजनाको निर्माण सुरु गर्ने योजना बनाएको छ । निर्माणको पुर्व तयारीको काम अन्तिम चरणमा पुगेको छ । २०७ रोपनी बराबरको निजी जग्गा प्राप्त भइसकेको छ, यसका अलावा अन्नपूर्ण संरक्षण क्षेत्रको १९४ रोपनी भाडामा लिन र त्यहाँका रुख काट्न पनि सरकार स्वीकृतप्राप्त भइसकेको छ । आयोजना निर्माण स्थलसम्म पुग्न सडक समेत तयार भइसकेको छ भने ठेक्का प्रक्रिया पनि अघि बढेको छ ।

२०८० असार ३१ गते आह्वान गरेको टेन्डरमा आवेदन दिएका कम्पनीको प्रस्तावलाई कात्तिक १४ गते खोलेर मुल्यांकन गर्ने काम भइरहेको छ । चालु आवमा रुख काटन्े र ठेकदार कम्पनी छनोट गर्ने काम सक्काउने योजना छ । त्यसपछि अर्काे आवमा काम सुरु गर्ने योजना रहेको छ । काम सुरु गरेको ४ बर्षमा आयोजना सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

यस आयोजनाको बिजुली नेपाल विद्युत् प्राधिकरणले नै खरिद गर्नेछ, यसका लागि गत असारमा प्राधिकरण र कम्पनीबीच पीपीए भइसकेको छ । हस्ताक्षर समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बस्नेतले यो सम्झौता निकै महत्वपूर्ण भएको बताउनु भयो । यस्तै, उहाँले ऊर्जा क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण पाटो बन्दै गएको बताउनु भयो ।

सोही अवसरमा कम्पनीका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो सम्झौता आयोजना विकासका लागि माइलस्टोन भएको बताउनुभयो । लगानी जुटाउने, जग्गा प्राप्ती गर्ने जस्ता निकै महत्वपुर्ण मानिने बताउँदै उहाँले आगामी आवबाट निर्माणको काम पनि सुरु हुने जानकारी दिनुभयो ।

यस्तै, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले थप आयोजनाहरुमा लगानी बढाउँदै जाने बताउनु भयो । ‘यसअघि हामीले ऊर्जा बन्ड जारी गरेका थियौ । ऊर्जामा एकल अंकको व्याजदरमै कर्जा दिदैं आएका छौं,’ केसीले भन्नुभयो, ‘आगामी दिनहरुमा पनि ऊजाएमा लगानी बढाउँदै जान्छौं ।’

एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले १२ बर्षमा साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्य पुरा गर्न ऊर्जा क्षेत्रमा थप लगानी गर्ने बताउनु भयो । ऊर्जा सचिव गोपाल सिग्देलले आयोजनामा लगानी गर्ने सम्झौता गरेकोमा एनएमबी बैंक र एचआईडीएललाई धन्वाद दिनुभयो । सरकारको १२ बर्षमा साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्राप्ती गर्न यो सम्झौता महत्वुर्ण हुने उहाँको भनाइ छ ।