जनता टाइम्स

२६ पुष २०८०, बिहीबार १६:३८

बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेल चयन


काठमाडौं, पुस २६ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिल) को अध्यक्षमा नविक बैंकका अध्यक्ष उपेन्द्र पौडेल चयन हुनुभएको छ । पुस २५ गते बसेको कार्यसमिति बैठकले अध्यक्ष पवनकुमार गोल्यानले पदबाट दिएको राजीनामा स्वीकृत गरी पौडेललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ।

एनएमबि बैंकको आसन्न साधारण सभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्वजानकारीसहित संस्थाको विधानको भावना र मर्मलाई आत्मसाथ गर्दै पदीय आचरण र नैतिकताका आधारमा गोल्यानले अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो ।

सिबिफिनको तदर्थ समितिको गठनदेखि हालसम्म उदाहरणीय नेतृत्व गर्दै आउनु भएका गोल्यानको चारवर्षे कार्यकालमा सिबिफिनले आफूलाई देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय समुदायमा समेत स्थापित गर्न सफल भएको छ।

निवर्तमान अध्यक्ष गोल्यानको फराकिलो र दूरगामी सोच एवम् मार्गनिर्देशनमा अगाडि बढेको सिबिफिनले आर्थिक एवम् बैंकिङ क्षेत्रमा खेलेको भूमिका र योगदानका आधारमा प्रवल जनसेवाश्री जस्तो राष्ट्रिय पदकबाट समेत विभूषित भइसकेको छ।

नेपालको बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अवधिदेखि निरन्तर क्रियाशील हुँदै आएका गोल्यानको नेपालको बैंकिङ क्षेत्रको विकास एवम् विस्तारमा समेत अतुलनीय योगदान रहेको छ।

निवर्तमान अध्यक्ष गोल्यानको राजीनामासँगै रिक्त अध्यक्ष पदमा परिसंघको वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा बसेको कार्यसमितिको १५ औं बैंठकले नबिल बैंकका अध्यक्ष तथा सिबिफिनको कार्यसमिति सदस्य उपेन्द्र पौडेललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।

अध्यक्षमा सर्वसम्मत चयन भएका पौडेल विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन्। सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौडेलले एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो ।

एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिए पछि उहाँ नबिल बैंकको सञ्चालक हुँदै हाल अध्यक्ष रहनुभएको छ ।