काठमाडौं, पुस २७ । बाढीपहिरोले संरचना भत्काएपछि सात महिनादेखि बन्द सुरुङमा मेलम्ची खोलाको पानी प्रवेश गराइएको छ ।
परीक्षणका रूपमा पानी प्रवेश मंगलबारदेखि सुरु गरिएको हो । बिहीबारदेखि प्रतिसेकेन्ड ६ सय लिटर पानी सुरुङमा प्रवेश गराइएको छ । परिमाण बढाउँदै दैनिक २ हजार प्रतिसेकेन्ड अर्थात १७ करोड लिटर सुरुङमा पठाइने छ ।
पानी प्रवेश गराएसँगै सुरुङ भरिएर सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झर्न कम्तीमा चार दिन लाग्ने प्राविधिकहरुले बताएका छन । मेलम्ची खानेपानी आयोजनाले माघ १ गतेसम्म काठमाडौंवासीको धारामा पानी पुर्याउने लक्ष्य राखिएको बताएको छ ।
गत साउन अन्तिम साता आएको बाढीले ल्याएको बालुवा र ढुंगासहितको गेग्रानले पुरिएको सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहान क्षेत्र (हेडवर्क्स) सफा गरेर अस्थायी रूपमा पानी सुरुङमा प्रवेश गराइएको आयोजनाले जनाएको छ ।
मेलम्ची विकास समितिले २८ दिनमा पानी काठमाडौं झार्ने गरी काम गर्न चिनियाँ ठेकेदार कम्पनीसँग गत ३ गते गेग्रान हटाउने ठेक्का सम्झौता गरेको थियो । २०७८ असारको बाढीले मुहान क्षेत्र क्षतिग्रस्त भएपछि मेलम्चीको पानी काठमाडौंमा नियमित वितरण हुन सकेको छैन ।
तात्कालिन प्रधानमन्त्री कपी शर्मा ओलीकै पालामा मेलम्चीको पानी काठमाडौंमा बितरण सुरु गरिए पनि बाढीले संरचना भत्काएपछि नियमित हुन नसकेको हो ।













प्रतिक्रिया दिनुहोस्