जनता टाइम्स

२८ पुष २०८०, शनिबार ०९:४१

माघ २० सम्म लम्बियो मुग्लिन-नारायणगढ सडक बन्दको समय


चितवन, पुस २८ । गत पुस ७ गतेदेखि २८ गतेसम्मलाई भनेर नारायणगढ मुग्लिन सडकमा मध्यान्ह १२ बजेदिखि दिउँसो ४ बजेसम्म गाडी बन्द गरेर तुइन खोलामा पुल बनाउन चट्टानी पहाड काट्न सुरू गरे पनि काम नसकिएका कारण सडक बन्द हुने समय माघ २० सम्म लम्ब्याइएको छ ।

संक्रान्तिका दिन माघ १ गते भने सडक बन्द नहुने नागढुंगा मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो ।

अरू दिन मध्यान्ह १२ बजेदिखि दिउँसो ४ बजेसम्मका लागि बाटोमा गाडी बन्द गरेर काम हुने उहाँले बताउनु भयो । अत्यावश्यक सेवाका एम्बुलेन्स आए काम रोकेर पनि बाटो दिने गरिएको छ । निर्माण व्यवसायीले एक महिना समय थप्न योजना कार्यालयमा माग गरेका थिए । योजना कार्यालयले पनि सोहीअनुरूप चितवन जिल्ला प्रशासनलाई समय प्रस्ताव गरेको थियो ।

प्रशासनले भने माघ २० सम्मलाई समय दिएको छ । बाटो बन्द गरेर अहिलेसम्म १५ मिटरको हाराहारीमा मात्रै पहाड काट्न सकिएको सूचना अधिकारी आचार्यले बताउनु भयो । अझै २० मिटर जति पहाड काट्न बाँकी नै छ । चट्टान निकै कडा परेका कारण समय लागेको उहाँले बताउनु भयो । काट्न बाँकी चट्टान झनै कडा छ ।

नारायणगढ मुग्लिन सडक निकै व्यस्त सडक हो । यो सडक हुँदै दिनहुँ साना ठूला गरेर १० हजारभन्दा धेरै गाडीहरू ओहरदोहर गर्दछन् । राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्व र पश्चिम भेगसँग जोड्ने मुख्य सडक नै यही हो । राजधानीका लागि यो सडक लाइफ लाइन मानिन्छ । तर यो सडक बर्खायाममा पहिरो र अरू समयमा निर्माण र विस्तारका लागि बन्द हुने गरेको छ ।

तुइन खोलामा गत वर्ष पनि पहाड काट्न पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो बन्द हुने गरेको थियो । एक महिनाका लागि भनेर सुरू भएको बन्द अढाई महिना अर्थात् फागुन २० सम्म लम्बिएको थियो । त्यो समयमा जम्मा २५ मिटर जति मात्रै पहाड काट्न सकेको आचार्यले बताए । विस्फोटक पदार्थ प्रयोग गर्ने भनेर गत वर्ष पहाड काट्ने काम रोके पनि यो पटक पनि मेसिन औजार नै प्रयोग भएको छ ।