झापा, पुस २९ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक सेवाग्राहीको ३ लाख ४३ हजार रकम गायब भएको छ । झापाको शिवसताक्षी नगरपालिका–६ स्थित राष्ट्रिय वाणिज्य बैंक शिवगञ्ज शाखाको खाताबाट स्थानीय आशाकुमारी राजवंशीको सो रकम गायब भएको हो ।
राजबंशीको महालक्ष्मी सेभिङ खाता नम्बर २१७०१०००००२६३००४ बाट सो रकम गायब भएको भन्दै उहाँका पति कृष्णकुमारले इलाका प्रहरी कार्यालय दमकमा आज लिखित उजुरी दिनुभएको छ । १५ हजार र २० हजारका दरले पटक पटक गरेर आफ्नो श्रीमतीको खाताबाट सो रकम हिनामिना भएको उहाँको भनाई छ ।
बैंक कर्मचारीकै मिलेमतोमा खाताबाट रकम गायब पारिएको उहाँले बताउनु भयो । प्रहरीले एटिएम कार्डबाट सो रकम निकालेको देखिएको जनाएको छ । जबकि खातावालले एटिएम कार्ड नै बनाएका छैनन । बैक खाताबाट हराएको रकमका बारेमा गैर जिम्मेवार जवाफ दिएको बैंकले बैक इस्टेटमेन्ट दिन समेत नमानेको बताइएको छ ।
अर्को कुनै व्यक्तिले खाताबाट सो रकम निकालेको भन्दै बैंकले घटना ढाकछोप गर्नलाई १ लाख ३ हजार, १ लाख ४० हजार र १ लाख गरी तीन पटकमा सो रकम आशाकुमारीको खातामा जम्मा गरिदिएको पाइएको छ। उजुरीकर्ताले किन र कसले रकम निकालेको भन्दै घटनाको सत्य तथ्य छानबिनका लागि प्रहरीसँगै राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय काठमाडौँमा समेत आजै उजुरी पठाएका छन ।













प्रतिक्रिया दिनुहोस्