जनता टाइम्स

१ माघ २०८०, सोमबार ०६:१५

साढे ७ अर्बले बढ्यो बैङ्कहरूको नाफा : नविल र ग्लोबल पहिलो दोस्रो बन्दा कुन बैंकको कति ? (सूचीसहित)


काठमाडौं, माघ १ । पाँच महिनामा बैङ्कहरूले साढे २८ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन । चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर मसान्तसम्ममा बैङ्कहरूले सो बराबरको नाफा कमाएका हुन ।

नेपाल राष्ट्र बैङ्कको तथ्यांक अनुसार मंसिरसम्म बैङ्कहरूले २८ अर्ब ३६ करोड ७८ लाख रुपैया बढी खुद नाफा कमाएका छन । जुन गत कात्तिकसम्मको तुलनामा ३६.८२ प्रतिशतले बढी हो । गत कात्तिकमा २० वटा वाणिज्य बैङ्कहरूले २० अर्ब ७३ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । एक महिना (मंसिरमा मात्र) मै बैङ्कहरूले ७ अर्ब ६३ करोड ५५ लाख रुपैयाँ नाफा कमाएका हुन ।

यस अवधिमा नबिल बैङ्क सवैभन्दा बढी नाफा कमाउनेको सूचीमा परेको छ । सो बैङ्कले पाँच महिनामा बैङ्कले २ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको हो । नबिल बैङ्कले गत कात्तिकको तुलनामा ७९ करोड ९६ लाख रुपैयाँ बढी नाफा कमाएको हो । नाफा कमाउनेमा ग्लोबल आइएमई बैङ्क दोस्रो सूचीमा परेको छ । सो बैङ्कले २ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ पाँच महिनामा कमाएको छ । मंसिरमा मात्रै ग्लोबल आइएमई बैङ्कले ७९ अर्ब ९ लाख रुपैयाँ नाफा कमाएको हो ।

यस्तै तेस्रो सूचीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (एनआइएमबि) रहेको छ । सो बैङ्कले २ अर्ब ६० करोड ९० लाख रुपैयाँ बराबरको नाफा गरेको छ । सो बैङ्कले एक महिनामै थप ७४ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

यस्तै गत कात्तिकसम्ममा ऋणात्मक रहेको कृषि विकास बैङ्क पनि मङ्सिरमा नाफामा देखिएको छ । गत कात्तिकसम्म कृषि विकास २७ करोड ८८ लाख रुपैयाँ नोक्सानीमा रहेकोमा मंसिरमा बैङ्कले १२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।

नाफाकै आधारमा एनआइसी एसियालाई प्राइम बैङ्कले उछिनेको छ । पाँच महिनामा प्राइम बैङ्कले १ अर्ब ९२ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै एनआईसी एसियाले भने १ अर्ब ८५ करोड १ लाख रुपैयाँ नाफा कमाएका छ । यता, हिमालयन बैङ्कले पनि १ अर्ब ८० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस अवधिमा प्रभु बैङ्कले १ अर्ब ४९ करोड ४५ लाख नाफा कमाएको छ । यस्तै, एनएमबि बैङ्कले १ अर्ब ४५ करोड १३ लाख, एभेष्टले १ अर्ब ४० करोड ३२ लाख, सानिमाले १ अर्ब ७ करोड ६३ लाख रुपैयाँ नफा कमाएको छ । यसैगरी राष्ट्रिय वाणिज्य बैङ्कले १ अर्ब ४१ करोड १ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब २५ करोड ६० लाख, कुमारीले १ अर्ब ३० करोड १५ लाख रुपैयाँ र नेपाल बैङ्कले १ अर्ब २१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

पाँच महिनामा चार बैङ्कको नाफा भने १ अर्बभन्दा कम रहेको । यस अवधिमा लक्ष्मी सनराइज बैङ्कले ८९ करोड ८० लाख रुपैयाँ, सिद्धार्थ बैङ्कले ६२ करोड ३८ लाख, सिटिजनले ७४ करोड ३५ लाख, नेपाल एसबिआइले ७० करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएका हुन ।