नुवाकोट, माघ १ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बाटोले विकासको धेरै ठूलो सम्भावना खुलेको अबताउनु भएको छ । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित शेराबगर विकाश समाजद्वारा आयोजित बृहत गोरु जुधाई तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताउनु भएको हो ।
‘मध्यपहाडी लोकमार्ग पहिला यहाँबाट लैजाने योजना थिएन । पाँचखालबाट काठमाडौं हुँदै झोरबाट छहरे झार्ने योजना थियो । काठमाडौंबाट पछाडि परेको शिवपुरीबाट बाटो जानुपर्छ भनेर मैले प्रस्ताव गरेको हुँ । अहिले लोकमार्ग बनेको छ । अब यो ठाउँको शुभदिन सुरु भएको छ । हामीले यसको भरपूर उपयोग गर्नुपर्छ,’ महतले भन्नुभयो ।
अर्थमन्त्री महतले थप्नुभयो, ‘शिवपुरी गाउँपालिका पहिला पिछडिएको थियो, विजुली र यातायातको सुविधा थिएन, धेरै उतारचढावपछि यो क्षेत्र रुपान्तरिक भएको छ । ०४६ सालपछि विकास गाउँ पस्यो । सडक, शिक्षा, स्वास्थ्य चौकी, खानेपानी र सिँचाई तथा नागरिक सशक्तिकरण प्रारम्भ भयो ।’
महोत्सवमा विभिन्न खालका उत्पादन प्रदर्शनीमा राखिएकोमा खुशी व्यक्त गर्नुहुँदै मन्त्री महतले भन्नुभयो, ‘रसायनिक मल प्रयोग नगरी स्थानीय मलको प्रयोग गरेर उत्पादन सुरु भएको छ । सडक बनेको छ, काठमाडौं पुग्न सजिलो छ । ४५ मिनेटमा काठमाडौं पुगिन्छ ।’
उत्पादनको सम्भावनालाई प्रयोग गर्न अनुरोध गर्नुहुँदै मन्त्री डा। महतले भन्नुभयो, ‘सरकारले उत्पादनमा अनुदान दिने नीति सरकारले बजेटमार्फत् ल्याएको छ । पहिलाजस्तो गैरकृषकले कागजमा देखाएर अनुदान लिने परम्परा अन्त्य भएको छ । अब कागजमा देखाएर हुँदैन, उत्पादन देखाउनुपर्छ । उत्पादन देखाउँदा अनुदान पाइछ । यसको उपयोग गर्न म अनुरोध गर्दछु ।’
‘नुवाकोट जिल्लामा बजेट राम्रोसँग परेको थिएन । डा. रामशरण महत अर्थमन्त्री भएका बेला पुल र बाटो निर्माणका धेरै योजना आएका थिए । त्यसपछि केही समय रोकिएको थियो,’ उहाँले भन्नुभयो, अहिले जगतेदेखि गोल्फु भञ्ज्याङसम्मको बाटोका लागि एक अर्ब २० करोड रुपैयाँको ठेक्का प्रकृया अघि बढिसकेको छ । ककनी जाने बाटोमा पनि एक अर्ब ३० करोड रुपैयाँको ठेक्का प्रकृया अगाडि बढिसकेको छ । सूर्यगढी जोड्ने, पञ्चकन्याबाट गोल्फु भन्ज्याङ जाने बाटोका लागि बजेट विनियोजन गरिएको छ ।’
मन्त्री महतले भन्नुभयो, ‘उत्पादन क्षेत्रसँग जोड्ने बाटो निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने सिँचाइ आयोजनाका योजनाहरु पनि राखिएको छ ।’
‘सडक निर्माणमा एकै पटक बजेट राख्न सकिँदैन । देशमा आवश्यकता धेरै छन्, आम्दानी थोरै छ । अर्थमन्त्रीले देशैभरि हेर्नुपर्छ, मैले नुवाकोटलाई मात्र हेर्न मिल्दैन’ उहाँले भन्नुभयो, नुवाकोटमा अझ धेरै बजेट राख्ने चाहना हुँदाहुँदै छुट्न गएको छ, ती आउँदा दिनमा समेटिने छन् ।’
प्रतिक्रिया दिनुहोस्